काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले काठमाडौंमा घोषणापत्र सार्वजनिक गर्दै आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
घोषणापत्रमा एमालेले “स्वदेशमै विश्वस्तरीय स्वास्थ्य सेवा” उपलब्ध गराउने लक्ष्य अघि सारेको छ। वडा तहदेखि केन्द्रसम्म अस्पताल पूर्वाधार निर्माण, आधुनिकीकरण, आधुनिक उपकरणको व्यवस्था र दक्ष जनशक्ति व्यवस्थापनमार्फत स्वास्थ्य प्रणाली सुदृढ गरिने उल्लेख छ।
आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ
एमालेले आधारभूत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिकताका साथ निःशुल्क र सर्वव्यापी बनाउने घोषणा गरेको छ। संघीय सरकारको वित्तीय सहयोगमा स्थानीय तहमार्फत कार्यान्वयन हुने आधारभूत स्वास्थ्य सेवासँगै ठूला स्वास्थ्य प्रदायक संस्थालाई समेत आफ्नो कार्यक्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन व्यवस्था मिलाइने उल्लेख छ।
प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तीमा एक एमडीजीपी चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराउने, स्वास्थ्य केन्द्र–आधारित उपचार र सिफारिसमा मात्र रिफरल प्रणाली विकास गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ। जिल्ला अस्पतालको स्तरोन्नति गरी न्यूनतम विशेषज्ञ सेवा र प्रदेशस्तरमा प्रभावकारी रिफरल प्रणाली स्थापना गर्ने लक्ष्य राखिएको छ।
स्वास्थ्य बीमा प्रणाली सुधार
स्वास्थ्य बीमा प्रणालीमा देखिएको वित्तीय तथा व्यवस्थापकीय समस्या समाधान गर्दै नागरिकलाई सहज सेवा सुनिश्चित गर्ने एमालेको प्रतिबद्धता छ। स्वास्थ्य बीमा र सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई क्रमशः एकीकृत गरी दोहोरो वित्तीय बोझ, सेवा उत्पादन–खरिदको अन्योल र बीमा–निःशुल्क सेवाबीचको दोहोरोपन हटाइने उल्लेख गरिएको छ।
बीमा प्रणालीलाई संरचनात्मक र सञ्चालनगत सुधार गरी दिगो बनाउने, राष्ट्रिय वित्तीय स्रोत सुनिश्चित गर्दै बीमाको दायरा विस्तार गर्ने र आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवाबीच स्पष्ट परिभाषा र जिम्मेवारी कानुनमै व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।
सरकारी–निजी अस्पताल नियमन
सरकारी अस्पतालको व्यवस्थापन, जनशक्ति नियुक्ति र परिचालन सुधार गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रोत्साहन, सुरक्षा र वृत्ति विकासमा जोड दिइने एमालेले जनाएको छ। निजी अस्पतालको शुल्क र गुणस्तर नियमनका लागि मापदण्ड र ‘क्यापिङ’ प्रणाली लागू गरिने प्रतिबद्धता पनि गरिएको छ।
रोकथाम र प्रवर्द्धनमा जोड
संक्रमणजन्य र गैर–संक्रमणजन्य रोगको दोहोरो भारलाई सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई रोकथाम, प्रवर्द्धन र उपचारबीच सन्तुलित रूपमा विकास गरिने नीति एमालेले अघि सारेको छ। जनस्वास्थ्य सचेतना, स्वच्छ तथा पोषणयुक्त आहार, नियमित व्यायाम र वातावरणीय प्रदूषण नियन्त्रणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताइएको छ।
परम्परागत चिकित्सा र प्रविधि एकीकरण
योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, आम्ची र होमियोप्याथी लगायत परम्परागत तथा वैकल्पिक चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सासँग एकीकृत गर्ने योजना पनि घोषणापत्रमा छ। आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत स्वास्थ्य प्रणालीलाई अत्याधुनिक बनाइने उल्लेख गरिएको छ।
स्वास्थ्य पर्यटन र चिकित्सा शिक्षा
एमालेले स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्दै सरकारी, निजी र सामुदायिक साझेदारी विस्तार गर्ने घोषणा गरेको छ। चिकित्सा शिक्षाको गुणस्तर र पहुँच विस्तार गर्दै विदेशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थीको कोटा वृद्धि गर्ने लक्ष्य पनि समेटिएको छ।
घोषणापत्रमा एमालेले “यो निर्वाचन देश बनाउने र भत्काउनेबीचको जनमत–संग्रह हो” भन्दै स्वास्थ्य क्षेत्रलाई समृद्ध नेपाल निर्माणको प्रमुख आधारका रूपमा प्रस्तुत गरेको छ।

प्रतिकया दिनुहोस्