पैसा नहुने नागरिकको स्वास्थ्य बीमा खर्च राज्यले बेहोर्छ : कांग्रेस

स्वास्थ्यसमाचार/ कांग्रेस सभापति गगन थापाले नागरिकको स्वास्थ्य उपचार राज्यको दायित्व भएको बताउँदै यसलाई निशुल्क बनाउने बताएका छन्।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘हरेक नागरिक स्वास्थ्य बीमामा जोडिएर आफ्नो र परिवारको उपचार खर्चबारे निश्चिन्त रहोस्। हरेक नागरिकले उपचारमा जतिसुकै खर्च लागोस्, राज्य छ भन्ने गर्व गरून् र ढुक्कसँग भन्न सकून्—गोजीमा बीमा कार्ड छ, मलाई केको डर छ।’

सभापति थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने पनि बताए। उनले कमाउनेले प्रिमियम तिर्ने र नहुनेको खर्च राज्यले बेहोर्ने बताए। नागरिकको स्वास्थ्य उपचार राज्यको जिम्मेवारी भएको भन्दै यसबारे घोषणापत्रमा स्पष्ट उल्लेख गरिएको छ। उनले भने, ‘यसका लागि हामीले स्वास्थ्यमा १५ बुँदे प्रतिज्ञा गरेका छौं।’

उहाँले गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संविधान प्रदत्त हक भएको भन्दै स्वास्थ्य बीमाको लागत सरकारले नै बेहोर्नुपर्ने बताए। हाल जारी स्वास्थ्य बीमामा देखा परेको संकट हटाउने योजना पनि आफूहरूसँग रहेको उनले बताए। साथै, नेपालमा फ्रि हेल्थकेयरको अवधारणा सम्भव भएको र यो आफूहरूको संकल्प भएको दाबी गरे।

सभापति थापाले कृषिसम्बन्धी विषयमा पनि घोषणापत्रमा समेटिएको बताए। उनले आगामी वर्षबाट एक नेपाली किसानले मलको लागि रुनुपर्ने दिनको अन्त्य हुने जानकारी दिए। उनले मल खरिदसम्बन्धी कानून बदल्ने र यसमा लगानी बढाउने योजना रहेको बताए। यसबारे घोषणापत्रमा विस्तृत रूपमा समेटिएको पनि उनले स्पष्ट पारे।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :