पाण्डेले स्वास्थ्यलाई केन्द्रमा राख्दै समृद्ध रुपन्देहीको घोषणा प्रस्तुत गरे

स्वास्थ्यसमाचार/ नेपाल कम्युनिष्ट पार्टी रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ले समृद्ध रुपन्देहीको खाकासहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। शिक्षा, स्वास्थ्य, युवा, लैंगिक समानता तथा भौतिक पूर्वाधार गरी पाँच शीर्षकमा केन्द्रित घोषणापत्रमा विशेषगरी जनस्वास्थ्य सुधार र स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ।

स्वास्थ्य : अन्तर्राष्ट्रियस्तरको सेवा विस्तारको लक्ष्य

घोषणापत्र अनुसार रुपन्देहीको स्वास्थ्य सेवा प्रणालीलाई गुणस्तरीय, पहुँचयोग्य र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। विशेषगरी लुम्बिनी प्रादेशिक अस्पताल लाई अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहित स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। अस्पतालमा अत्याधुनिक उपकरण जडान, विशेषज्ञ चिकित्सकको व्यवस्था, बेड संख्या विस्तार र सेवाग्राहीमैत्री प्रणाली विकास गर्ने उल्लेख गरिएको छ।

क्यान्सरका बिरामीलाई लक्षित गर्दै विशेष सेवा विस्तार, उपचार सहयोग कोष स्थापना र अस्पताल परिसरमै आवास गृह निर्माण गर्ने योजना समेटिएको छ। यसबाट दूरदराजबाट आउने बिरामी र उनका आफन्तलाई सहजता पुग्ने विश्वास गरिएको छ।

प्राकृतिक चिकित्सालय स्तरोन्नति र निःशुल्क उपचार

रुपन्देही–२ अन्तर्गत रहेको प्राकृतिक चिकित्सालयलाई स्तरोन्नति गरी वैकल्पिक उपचार प्रणालीलाई प्रवर्द्धन गर्ने विषय पनि घोषणापत्रमा समावेश छ। आधारभूत स्वास्थ्य सेवासँगै जटिल तथा दीर्घकालीन रोगहरूको निःशुल्क प्राकृतिक उपचार व्यवस्था गर्ने योजना अघि सारिएको छ।

त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने, बीमित नागरिकले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। क्षेत्रमै ट्रमा सेन्टर स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने विषय पनि प्राथमिकतामा राखिएको छ।

स्वास्थ्यसँग जोडिएका पूर्वाधार र वातावरणीय सुधार

पाण्डेको घोषणापत्रमा नदीजन्य विपद् नियन्त्रण र सुरक्षित बस्ती विकासलाई पनि जनस्वास्थ्यसँग जोडिएको मुद्दाका रूपमा व्याख्या गरिएको छ। सुखौरा खोला, तिनाउ नदी, दानव नदी तथा रोहिणी नदीबाट हुने वार्षिक क्षतिको दीर्घकालीन समाधान खोज्ने उल्लेख गरिएको छ। बाढी, डुबान र प्रदूषणका कारण स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्य राखिएको छ।

भुम्सा खानेपानी आयोजना र तिनाउ नदीको पानी पूर्ण प्रशोधन गरी वितरण गर्ने योजना पनि जनस्वास्थ्य सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताइएको छ। स्वच्छ खानेपानी र सरसफाइलाई स्वास्थ्य सुधारको आधार मानेर कार्यक्रम अगाडि सारिएको हो।

शिक्षा र स्वास्थ्यको समन्वय

घोषणापत्रमा बुटवललाई काठमाडौं बाहिरको शैक्षिक राजधानी बनाउने लक्ष्यसहित शिक्षा क्षेत्रमा व्यापक सुधारका योजना प्रस्तुत गरिएका छन्। सामुदायिक विद्यालयहरूमा पूर्वाधार र जनशक्ति अभाव हुन नदिने, प्राविधिक तथा व्यवसायिक शिक्षा विस्तार गर्ने र उच्च शिक्षालाई गुणस्तरीय बनाउने प्रतिबद्धता जनाइएको छ।

शिक्षा र स्वास्थ्यबीचको अन्तरसम्बन्धलाई ध्यानमा राख्दै स्वास्थ्यसम्बन्धी प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने योजना पनि अघि सारिएको छ। स्थानीय स्तरमै दक्ष नर्स, स्वास्थ्यकर्मी र प्राविधिक उत्पादन गर्न सके स्वास्थ्य सेवामा आत्मनिर्भरता बढ्ने अपेक्षा गरिएको छ।

युवा, खेलकुद र मानसिक स्वास्थ्य

प्रतिभा पलायन रोक्ने, युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने र विज्ञान तथा प्रविधिमा जोड दिने कार्यक्रम पनि स्वास्थ्यसँग जोडिएका छन्। खेलकुद पूर्वाधार निर्माण, रंगशाला र कवर्ड हल स्थापना, पदक विजेतालाई प्रोत्साहन जस्ता कार्यक्रमले युवामा शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

‘मेरो देश, मैले मेरै पालामा बनाउँछु’ भन्ने भावना विकास गर्दै सकारात्मक सामाजिक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।

लैंगिक समानता र सामाजिक सुरक्षा

घोषणापत्रमा जातीय, लैंगिक र सामाजिक विभेदको व्यवहारिक अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। हिंसामुक्त र सुरक्षित समाज निर्माण, हिंसापीडितका लागि सुरक्षा केन्द्र स्थापना, विपन्न वर्गलाई सहुलियत दरमा खाद्यान्न र स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने योजना उल्लेख गरिएको छ।

सामाजिक सुरक्षाका यी कार्यक्रमले स्वास्थ्य जोखिममा परेका वर्गलाई राहत पुर्‍याउने अपेक्षा गरिएको छ। विशेषगरी महिलाहरू, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिइने बताइएको छ।

कार्यान्वयनमा जोड

घोषणापत्र सार्वजनिक गर्दै उम्मेदवार पाण्डेले आफ्ना एजेन्डा केवल नारामा सीमित नरहने दाबी गरेका छन्। योजना, बजेट र कार्यान्वयनको स्पष्ट रोडम्यापसहित स्वास्थ्य तथा समग्र विकासका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :