राप्रपाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र: स्वास्थ्यमा यी प्रमुख बुँदा

स्वास्थ्यसमाचार/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘संकल्पपत्र’ नामक घोषणापत्र सार्वजनिक गरेका हुन्।

स्वास्थ्य क्षेत्रमा केन्द्रित घोषणापत्रका मुख्य बुँदाहरू यस प्रकार छन्:

-आधारभूत स्वास्थ्य उपचार सेवा सबै नागरिकलाई निशुल्क र अनिवार्य गरिनेछ।

-आम नागरिकले स्वास्थ्य सेवाबाट वञ्चित नहुन र अस्पतालको पहुँचबाट बाहिर नपर्न पाउने सुनिश्चित गरिनेछ।

-जेष्ठ र असक्त नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याइनेछ।

-सबै नागरिकलाई स्वास्थ्य बीमा प्रणालीमा पुर्याइने र बीमितले इच्छित अस्पतालमा उपचार पाउने व्यवस्था मिलाइनेछ। बीमाको भुक्तानीसँग सम्बन्धित समस्या कडाइका साथ नियमन गरिनेछ।

-औषधीको मूल्य निर्धारण प्रभावकारी बनाइने र औषधी सस्तो तथा सुलभ गरिनेछ।

-निजी औषधी उद्योगलाई सहुलियत दिई उत्पादनमा मुलुक आत्मनिर्भर बनाइनेछ।

-सरकारी स्वामित्वमा रहेको नेपाल औषधी उद्योग लिमिटेडलाई सुदृढ बनाई गुणस्तरीय औषधी उत्पादन गरिनेछ।

-नेपाललाई उच्चस्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रीय केन्द्र (हब) बनाइनेछ। आधुनिक अस्पताल, अनुसन्धान केन्द्र र उच्चस्तरीय पूर्वाधार विस्तार गरिनेछ।

-क्यान्सर, मृगौला र मेरुदण्ड रोगीलाई आर्थिक सहायता अझ प्रभावकारी बनाइनेछ। डायलासिस सेवा निशुल्क र सर्वसुलभ गरिनेछ।

-स्वास्थ्य क्षेत्रमा लगानी बढाएर सेवा दिगो र गुणस्तरीय बनाइनेछ।

-आयुर्वेद, प्राकृतिक योग र अन्य चिकित्सा पद्दति विकास गरिनेछ।

-सबै प्रकारको औषधीको गुणस्तर नियन्त्रण कडाइका साथ गरिनेछ।

-सातै प्रदेशमा काठमाडौँको वीर अस्पताल स्तरको अस्पताल निर्माण गरिनेछ।

-वडा स्वास्थ्य केन्द्र मार्फत प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गरिनेछ।

राप्रपाको यस घोषणापत्रले स्वास्थ्य सेवा पहुँच विस्तार, गुणस्तरीय उपचार र औषधीको सुलभता सुनिश्चित गर्ने उद्देश्यलाई प्राथमिकता दिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :