बुटवलमा प्रमुख–उपप्रमुखसहित सप्ताहव्यापी सरसफाइ अभियान

‘सरसफाइ औपचारिक कार्यक्रम होइन, दैनिक जीवनशैली हो’ : नगर प्रमुख पाण्डेय

स्वास्थ्यसमाचार/ बुटवलका प्रमुख खेलराज पाण्डेय तथा उपप्रमुख सावित्रादेवी अर्याल आफैँ झाडु बोकेर शहर सरसफाइ अभियानमा सहभागी हुनुभएको छ।

उपमहानगरको ६७औँ स्थापना दिवसको अवसरमा माघ २५ देखि फागुन २ गतेसम्म सञ्चालन गरिएको सप्ताहव्यापी सरसफाइ अभियान अन्तर्गत  बुटवलको योगीकुटीदेखि कालिका स्कुल क्षेत्रसम्म सडक सरसफाइ गरिएको हो।

सरसफाइ अभियानमा विभिन्न शैक्षिक संस्थाका विद्यार्थी, सामाजिक संघ–संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका सदस्य, जनप्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बिहानै झाडु बोकेर सडकमा पुग्नुभएका नगर प्रमुख खेलराज पाण्डेयले सरसफाइलाई औपचारिक कार्यक्रममा मात्र सीमित गर्न नहुने बताउनुभयो। तपाईँहरूले सरसफाइलाई दैनिक जीवनशैलीको हिस्सा बनाउनुपर्छ भन्दै उहाँले अभियानमा सक्रिय रूपमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई स्वच्छ, सुन्दर र हरियाली शहरका रूपमा विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। नियमित सरसफाइ अभियानमार्फत बुटवललाई सफा, स्वस्थ र आकर्षक शहरका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको उहाँको भनाइ छ। तपाईँहरूको निरन्तर सहभागिताले मात्र शहर सफा राख्न सम्भव हुने उहाँले उल्लेख गर्नुभयो।

स्वच्छ, सुन्दर र व्यवस्थित शहर निर्माण गर्ने उद्देश्यसहित सुरु गरिएको यस अभियानअन्तर्गत सोमबारको कार्यक्रममा कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

यसअघि आइतबार बुटवलको नयाँ बसपार्क क्षेत्रबाट अभियान सुरु गरिएको थियो, जहाँ सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका कर्मचारी, टोल विकास समितिका प्रतिनिधि, जनप्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरू सहभागी थिए।
उपमहानगरपालिकाका अनुसार सप्ताहव्यापी सरसफाइ अभियान फागुन २ गतेसम्म निरन्तर सञ्चालन हुनेछ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :