रुपन्देहीमा एचपीभी खोप अभियान माघ २५ देखि फागुन ४सम्म सञ्चालन हुने

स्वास्थ्यसमाचार/रुपन्देहीमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) माघ २५गतेदेखि फागुन ४ गतेसम्म लगाइने भएको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लास्तरीय खोप समन्वय समितिका पदाधिकारीहरूका लागि आयोजना गरिएको अभिमुखीकरण तथा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया गोष्ठीमार्फत एचपीभी खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। उक्त खोप अभियान माघ २५ गतेदेखि फागुन ४गतेसम्म सञ्चालन हुनेछ।

जिल्लाभरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइनेछ। विद्यालय नजाने किशोरीहरूको हकमा भने १० वर्ष उमेर समूह, गत वर्ष छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार यस वर्ष जिल्लाभर १२ हजार ४ सय १९ जना किशोरीलाई एचपीभी खोप प्रदान गर्ने लक्ष्य राखिएको छ। तीमध्ये विद्यालय नजाने किशोरीको संख्या ६ सय १० जना रहेको उहाँले बताउनुभयो।

गत वर्ष अभियानका रूपमा एचपीभी खोप लगाइएको भए पनि यस वर्षदेखि भने नियमित कार्यक्रमअन्तर्गत खोप सञ्चालन गरिन लागेको हो। आगामी वर्ष फागुनदेखि एचपीभी खोप पूर्ण रूपमा नियमित खोप कार्यक्रमअन्तर्गत प्रदान गरिनेछ। सबै विद्यालयमा खोप उपलब्ध गराइने र छुटेका किशोरीलाई नजिकको स्वास्थ्य संस्थामार्फत खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डा. सागर तिवारीले एचपीभी खोप लगाउनुपर्ने उमेर समूह, मात्रा तथा खोप लगाउँदा अपनाउनुपर्ने सावधानीसम्बन्धी जानकारी दिँदै खोप सुरक्षित र प्रभावकारी रहेको बताउनुभयो। उहाँले गत वर्षको तुलनामा यस वर्ष खोप लगाउन किशोरी तथा अभिभावकको उत्साह बढेको उल्लेख गर्नुभयो।

त्यसैगरी एचपीभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रममा शिक्षा इकाइ रुपन्देहीका विष्णु पन्थीले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सफल बनाउन शिक्षा क्षेत्र र स्वास्थ्य निकायबीच सहकार्य तथा समन्वय आवश्यक रहेको बताउँदै आफूहरू सहयोगका लागि तयार रहेको स्पष्ट पार्नुभयो।

रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मत्रिका आचार्यले एचपीभी खोप पाठेघरको मुखको क्यान्सर रोकथाममा प्रभावकारी रहेको उल्लेख गर्दै लक्षित उमेर समूहका सबै किशोरीलाई खोप सुनिश्चित गर्न सरोकारवाला सबै निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक उमाकान्त चपाईंले लक्षित समूहलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो माध्यमबाट खोप प्रदान गर्न आग्रह गर्नुभयो। उहाँले प्रतिखोप ९ हजार रुपैयाँभन्दा बढी खर्च हुने भएकाले सबै लक्षित किशोरीले अनिवार्य रूपमा खोप लगाउनुपर्नेमा जोड दिनुभयो।

“लक्षित समूहका सबैले जसरी पनि खोप पाउनैपर्छ,” उहाँले भन्नुभयो, “यसका लागि स्वास्थ्यकर्मीहरूले सुरक्षित र गुणस्तरीय खोप सम्बन्धित समूहसम्म पु¥याउनुपर्छ।”

अभिमुखीकरण कार्यक्रममा भिम अस्पतालकी महिला तथा स्त्रीरोग विशेषज्ञ डा. सैलाजा घिमिरे, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक, सञ्चारकर्मी तथा स्वास्थ्य कार्यालयका अधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेले गर्नुभएको थियो।

२५ देखी २८ सम्म खोप संञ्चालन हुने पालिकाहरु
गैडहवा सियारी मायादेबी तिलोत्तमा ओमसतिया कोटहीमाई मर्चवारीमाई देवदहनगरपालिका र कञ्चन गाउँपालिका

२५ देखी २९ सम्म खोप संञ्चालन हुने पालिकाहरु
बुटबल उपमहानगरपालिका शुदोधन सिदार्थनगर रोहीणी र सम्मरीमाई गाउँपालिका

माघ २९ देखी फागुन ४ गते सम्म खोप संञ्चालन हुने पालिका
लुम्बिनी संस्कृतिक नगरपालिका (राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको कारणले खोप माघ २५ देखी संञ्चालन हुन नसक्दा )

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :