लुम्बिनी प्रादेशिक अस्पतालको भूमिकाप्रति नगर प्रमुख असन्तुष्ट

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले लुम्बिनी प्रादेशिक अस्पतालले नगर सरकारसँग असहयोग गर्दै आएको गुनासो गर्नुभएको छ। बुटवलमा आयोजित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३औँ वार्षिक साधारण सभामा बोल्दै नगरप्रमुख पाण्डेले प्रादेशिक अस्पतालको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो।

नगरप्रमुख पाण्डेले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुलाई सम्बोधन गर्दै नगरपालिकाको स्वामित्वमा रहेको आम्दा अस्पतालबाट ओजेटी (OJT) गर्न आएका विद्यार्थीलाई प्रादेशिक अस्पतालले ओजेटी गर्न नदिएको गुनासो गर्नुभयो। यसका साथै अन्य स्वास्थ्य क्षेत्रहरूमा समेत प्रादेशिक अस्पतालले सहकार्य नगरेको उहाँको भनाइ थियो।

नगरप्रमुख पाण्डेले बुटवलमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालासँग सहकार्य गर्न खोजिएको जानकारी दिँदै उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँका अनुसार ‘बाआमासँग नगरप्रमुख’ कार्यक्रम, महिलाका लागि स्तन तथा पाठेघरको क्यान्सर परीक्षण शिविर, नसर्ने रोगसम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरिँदै आएका छन्।

त्यसैगरी सामुदायिक मुटु अस्पताल तथा अन्य निजी तथा सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्दै नगर सरकार अघि बढिरहेको र यसलाई निरन्तरता दिइने पनि नगरप्रमुख पाण्डेले स्पष्ट पार्नुभयो।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले अस्पतालमा उपचारका लागि आउने बिरामीहरूसँग चिकित्सक तथा स्वास्थ्यकर्मीले मिठो बोली र सम्मानजनक व्यवहार गर्न आग्रह गर्नुभयो। उहाँले नगर सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै स्वास्थ्य सेवा विस्तारमा अघि बढिरहेको बताउनुभयो।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :