स्वास्थ्यसमाचार/ लुम्बिनी क्षेत्रका फिजिसियन तथा आन्तरिक चिकित्सा विशेषज्ञहरूको छाता सङ्गठन लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (LIMS) ले आफ्नो मेडिकल बुलेटिनको दोस्रो संस्करण सफलताका साथ लोकार्पण गरेको छ।
बुटवलमा सोमबार आयोजित एक समारोहका बीच बुलेटिनको विमोचन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेसु एवं बरिष्ठ सर्जन डा. कृष्ण प्रसाद खनालले गर्नुभएको हो। विमोचनपछि बोल्दै प्रमुख अतिथि खनालले अनुसन्धानमूलक प्रकाशनले चिकित्सकहरूको निरन्तर शिक्षा र बिरामीको उपचारमा थप गुणस्तर कायम गर्न मद्दत पुग्ने बताउनुभयो।
सोसाइटीका अध्यक्ष डा. विष्णु प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले बुलेटिन प्रकाशनले नयाँ ज्ञानको आदानप्रदानमा सेतुको काम गर्ने र यसले आन्तरिक चिकित्साको क्षेत्रमा कार्यरत चिकित्सकहरूलाई नवीनतम जानकारीमा पहुँच पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष डा. नन्दु पाठक लगायत रुपन्देहीमा चिकित्सा पेशा गर्ने फिजिसियन हरुको को उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुमा सोसाइटीका तर्फबाट डा. हरि प्रसाद पन्थीले स्वागत मन्तव्य राख्दै बुलेटिन प्रकाशनको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।
बुलेटिनका प्रधान सम्पादक डा. सुभाष ज्ञवालीका अनुसार दोस्रो संस्करणमा चिकित्सा विज्ञानका विभिन्न पक्षमा गरिएका महत्त्वपूर्ण खोज अनुसन्धानमूलक लेखहरूका साथै चिकित्सक तथा पाठकहरूका लागि अत्यन्तै उपयोगी हुने किसिमका विशेष स्वास्थ्य सामग्रीहरू समावेश वताउनु भयो ।
उहाले बुलेटिनलाई नियमित र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको कुशल सञ्चालन फिजिसियन डा. प्रकाश भट्टराईले गर्नुभएको थियो।सोही अवसरमा उपस्थित सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नजिकिँदै गरेको नेपालीहरूको महान् पर्व शुभ दीपावली र तिहारको हार्दिक शुभकामना आदानप्रदान गरेका थिए।
प्रतिकया दिनुहोस्