नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाइल अभियान शुभारम्भ

मातृमृत्युदर घटाउन सबैको साथ आवश्यक स्वास्थ्य मन्त्री सारु

स्वास्थ्यसमाचार/ नवलपरासी पश्चिममा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको छ । मोबाईल मार्फत नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने लक्ष्यका साथ नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको हो ।

लुम्बिनी प्रदेशका तीन जिल्लामा यो भन्दा अघि अभियान सुरु गरिसकिएको छ । यसभन्दा अघि पाल्पा, बाँके र अर्घाखाँची जिल्लामा यो अभियान सुरु भईसकेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले नवलपरासीमा सुरु गरिएको अभियानको उद्घाटन गर्नुभयो । अभियानको उद्घाटन गर्दै मन्त्री सारुले मातृमृत्यूदरको तथ्याङ्क हेर्दा सुधार गर्नुपर्ने धेरै विषय देखिएको बताउनुभयो ।

उहाँले जिल्लाको सामाजिक, सांस्कृतिक र भावनात्मक रहनसहन बुझेर सूचक र तथ्याङ्कका आधारमा योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले समस्या आईसकेपछि उपचार गर्ने मात्र नभएर समस्या आउनुपूर्व नै त्यसको अध्ययन गरेर समस्या नै आउन नदिने तर्फ लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री सारुले स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा काम गर्ने कर्मचारीहरुले नाम देखिने गरि व्यक्तिगत व्यवसायमा बोर्ड राख्ने काम हटाउने, आर्थिक पारदर्शिता र सुशासनका लागि सवारी सवारी साधनहरुमा जीपीएस जडान गरिएको, छात्रवृत्ति करारका विद्यार्थीहरुलाई ग्रामिण क्षेत्रका अस्पतालहरुमा पठाउने लगाएतका काम प्राथमिकताका साथ मन्त्रालयले गरेको बताउनुभयो ।

अभियान अन्तरगत सरोकारवालाहरुसँगको अन्तरक्रियामा सहजिकरण गर्दै स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मान बहादुर ओलीले नेपालको संविधानमा स्वच्छ रुपमा बाँच्न पाउने हक भएको भन्दै स्वास्थ्य र सुरक्षित मातृत्व, बालबालिकाको हक, महिलाको हकलगायतका विषयमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य संस्थाले जनस्वास्थ्य ऐन २०७५ / नियमावली २०७७ अनुसार ९ शीर्षक र ४५ बढी सेवा दिनुपर्ने बताउनुभयो ।

नवलपरासी पश्चिममा ३६ प्रतिशतको विवाह १८ देखि २० वर्षमा हुने तथ्याङ्क रहेको छ । यहाँ चार पटक नै गर्भ जाँच गराउने गर्भवती ८६ प्रतिशत रहेका छन । ।लुम्बिनी प्रदेशमा ९३ प्रतिशत आमाहरुले स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेको तथ्याङ्क छ ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले फेमिलि हेल्थ प्रोफाइल निर्माण भएपछि नागरिकले सहज तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चौधरीले प्रदेश सरकारले नागरिक स्वास्थ्यलाई डिजिटलाईजेसन गर्ने अभियान सञ्चालन गर्नु खुशीको कुरा भएको बताउनुभयो ।

रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले योजना र कार्यक्रम राम्रो भएपनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुने भएकाले त्यस विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रका विभिन्न क्षेत्रमा अनुगमन र नियमन गर्न सके आम जनताले सुलभ स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले प्रविधि मार्फत महिलाहरुको स्वास्थ्यलाई गतिशिल बनाउने लक्ष्यका साथ यो योजना अघि सारिएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका हरु घरघरमै पुगेर डाटा लिने भएकाले आगामी दिनमा बनाउने योजना र अभियानहरू सञ्चालन गर्न प्रभावकारी हुने बताउनुभयो ।

सम्बन्धित शिर्षक :