स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले अबदेखि निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु को रूपमा तोक्ने प्रक्रिया बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय १ साउन २०८२ बाट कार्यान्वयनमा ल्याइने भएको हो।
यसअघि कतिपय निजी र सामुदायिक स्वास्थ्य संस्थाहरूलाई पनि बीमा बोर्डले प्रथम सेवा विन्दु तोकेको थियो। तर अब उक्त जिम्मेवारीबाट हटाइएर, पहिलो सेवा विन्दुको भूमिका सरकारी स्वास्थ्य संस्थाहरूले मात्रै निर्वाह गर्ने स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले जानकारी दिए।
बोर्डको निर्णयबारे १० असारमा सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई परिपत्र पठाइसकेको छ। यस निर्णयसँगै कतिपयमा ‘अब प्रथम सेवा विन्दु नचाहिने’ भन्ने भ्रम फैलिएको थियो, जुन पूर्णतः गलत भएको मल्लले बताए।
स्वास्थ्य बीमा ऐन २०७४ को दोस्रो संशोधन अन्तर्गतको दफा ९ को उपदफा (६) तथा नियमावली २०७५ को प्रथम संशोधन अनुसार नियम २ को खण्ड (छ) मा प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था हुने व्यवस्था गरिएको छ। बोर्डले अब यही कानुनी प्रावधान कार्यान्वयन गर्न लागेको हो।
बोर्डका अनुसार यो निर्णय कार्यकारी निर्देशकस्तरबाट गरिएको हो र लागू हुने मिति २०८२ सालको १ साउन तोकिएको छ।
प्रतिकया दिनुहोस्