मनोचिकित्सक सङ्घ नेपालको १० औं राष्ट्रिय सम्मेलन नेपालगन्जमा नेपाल सहित भारतका गरेर दुई सयभन्दा बढी साइक्याट्रिष्ट सहभागी

नेपालगञ्ज/नेपालगन्जमा अहिले देशभरिका दुई सयभन्दा बढी साइक्याट्रिष्ट तथा मनोचिकित्सकहरु हुनुहुन्छ । उहाँहरुले मानसिक स्वास्थ्य, दुव्र्यसनी, चुनौती र अवसरका विषयवस्तुमा केन्द्रित रहेर विभिन्न छलफल तथा कार्यपत्रहरुमाथि अन्तरक्रिया गरिरहनुभएको छ ।

नेपालगन्जमा सुरु भएको मनोचिकित्सक सङ्घ नेपालको १० औं राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि नेपालसहित भारतका गरेर दुई सयभन्दा बढी साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरु हाल नेपालगन्जमा रहनुभएको हो ।

प्रत्येक वर्ष सङ्घले आयोजना गर्ने यस्ता सम्मेलनहरुमा मानसिक स्वास्थ्यका विभिन्न आयामबारे प्राप्त अनुसन्धानका विषयमा विचार विमर्श गर्ने गरिएको सम्मेलनका संयोजक साइक्याट्रिष्ट प्रा डा मोहन बेल्वासेले जानकारी दिनुभयो । पश्चिम नेपालको नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको यस्तो प्रकारको राष्ट्रिय सम्मेलनमा दुर्व्यसनलाई मानसिक स्वास्थ्यभित्र राखेर उपचार खोजिनुपर्नेमा विशेष जोड दिइएको छ ।

संघका महासचिव डा मनोज ढुङ्गानाले पछिल्लो समय दुर्व्यसनका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेकाले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने सङ्घसंस्था, गृह प्रशासन तथा स्वास्थ्य मन्त्रालयबीच समन्वय गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

मानसिक स्वास्थ्य अस्पताल ललितपुरका निर्देशक तथा मनोचिकित्सक डा अनन्त अधिकारीले मानसिक स्वास्थ्यको उपचारलाई उपचारको मूल प्रवाहमा ल्याउन सुझाव दिँदै मानसिक रोगका बिरामीलाई समाजले गर्ने विभेद अन्त्यमा जोड दिनुभयो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले मानसिक स्वास्थ्यको समस्या जटिल हुँदै गएको उल्लेख गर्दै प्रविधिको विकासले डिजिटल लत मानसिक स्वास्थ्यको चुनौतीको रुपमा अघि आएको बताउनुभयो ।

दुईदिनसम्म चल्ने सो सम्मेलनमा ख्याति प्राप्त विज्ञहरुले कार्यपत्र प्रस्तुत गरिरहनुभएको छ । सम्मेलनको उदघाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा।रोशन पोख्रेलले गर्नुभएको थियो । उहाँले मानसिक स्वास्थ्य चुनौतीपूर्ण बनेको भन्दै सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यका क्षेत्र हेर्ने मन्त्रालयसँग कुनै विभाग नभए पनि डेस्क स्थापना गरिएको उल्लेख गर्नुभयो।

सो सम्मेलनमा सङ्घले प्रदान गर्दै आएको लाइभ टाइम एचिभमेन्ट अवार्ड यो पटक डा नवराज कोइरालालाई प्रदान गरिएको छ । डा कोइराला विराट मेडिकल कलेजका विभागीय प्रमुख हुनुहन्छ ।

यसैगरी मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुराएको भन्दै टिचिङ हस्पिटलका विभागीय प्रमुख डा।सरोज ओझा र मानव सेवा आश्रम नेपालगन्जलाई पनि सम्मानित गरिएको छ । मनोचिकित्सक सङ्घ नेपालका अध्यक्ष प्रा डा रवि शाक्यको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।