भीम अस्पतालमा ‘मर्चुरी फ्रिज सेवा’ अब रु. ५ सयमै

स्वास्थ्यसमाचार/ रुपन्देहीको भैरहवास्थित भीम अस्पतालले ‘मर्चुरी फ्रिज सेवा’ (शवलाई लामो समयसम्म सुरक्षित राख्ने फ्रिज) को शुल्क रु. ५ सय तोकेको छ ।

यसअघि अस्पतालले रु. १ हजार रुपैयाँ शुल्क लिदै आएकोमा अब भने यो सेवाका लागि रु. ५ सय लाग्ने भएको छ ।डा. शकुन्तला गुप्ताले दोस्रोपटक अस्पतालको प्रमुख एवं मेडिकल सुपरिटेण्डेण्ट (मेसु) को जिम्मेवारी सम्हालेपछि यो शुल्क कायम भएको हो ।

नागरिकको माग तथा स्थानीय सरोकारवालाहरुको सुझावअनुसार यो सुविधा प्रदान गरिएको अस्पताल प्रमुख डा. गुप्ताले बताइन् । ‘हामीले सकेसम्म मर्चुरी फ्रिज सेवालाई निःशुल्क रुपमा उपलब्ध गराउने प्रयास गरेका हौं, तर विद्युतलगायत केही खर्चका कारण तथा अस्पताल विकास समितिलाई पनि भार नपर्ने गरी हाललाई रु. ५ सय तोकेका छौं, ’उनले भनिन् ।

अस्पताल विकास समितिले निर्णयपछि यो सुविधा २०८१ असार ९ गतेदेखि लागू भएको छ ।त्यस्तै अस्पतालमा स्वास्थ्य बीमा सेवा र ज्येष्ठ नागरिकको लागि फार्मेसी सेवाका निम्ति छुट्टै युनिट स्थापना गरिएको डा. गुप्ताले जानकारी दिइन् ।

सम्बन्धित शिर्षक :