भारतले निकासी बन्द गरेपछि १५ सय टन जडीबुटी नेपालगन्जमा ठप्प

नेपालगञ्ज /नेपालमा उत्पादित जडीबुटी सहज रूपमा भारत जान नपाउँदा व्यवसाय ठप्प भएको छ । सूचीकृत नभएको बहाना बनाउँदै भारतले निकासी बन्द गरेपछि नेपालको जडीबुटी व्यवसाय ठप्प भएको छ ।

भारत निर्यात गर्न संकलन गरेर ल्याइएको जडीबुटी नेपालगन्जका व्यापारीको गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए । ‘नेपालमा उत्पादित जडीबुटी निकासीमा प्रतिबन्ध लगाएपछि व्यवसाय नै ठप्प भएको छ,’ उनले भने, ‘धेरै व्यवसायी पलायनसमेत भइसकेका छन् ।’

उनले प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नभएका जडीबुटी भारतमा निकासी गर्न नदिएपछि नेपालगन्जको जडिबुटी व्यवसाय ठप्प भएको बताए । ‘अधिकांश जडीबुटी भारत निर्यात हुन्छ, भारतले जडीबुटी निर्यातमा रोक लगाएपछि सयभन्दा बढी व्यवसायीको व्यवसाय धरापमा परेको छ,’ उनले भने ।

व्यापारीको गोदाममा कुहिन थाल्यो जडीबुटी

नेपालगन्ज नाकामा थन्किएका जडीबुटी कुहिन थालेका छन् । भण्डारण गरिएका जडीबुटीमा ढुसी लाग्ने र ओसिएर कालो हुन थालेको एक व्यापारीले बताए । लामो समयसम्म गोदाममा भण्डारण गरेका कारण जडीबुटीको गुणस्तरियता खस्किँदै गएको उनले बताए । उनले भने, ‘लामो समयसम्म भण्डारण गर्दा जडीबुटीमा हुनुपर्ने गुण ह्रास हुन्छ ।’ कुहिन थालेपछि भण्डारण गरिएका जडीबुटी सुकाएर पुनः भण्डारण गर्न बाध्य भएको जडीबुटी व्यवसायी शकील अहमद जसगढले बताए । उनले खरिद गरिएको जडीबुटी समयमा भारत पठाउन नसक्दा लाखौँ रुपैयाँ घाटा व्यहोर्नुपरेको जिकिर गरे । ‘जडीबुटी नेपालगन्जमा जाम भएकोले लाखौँ रुपैयाँ थन्किएको छ,’ उनले भने ।

५४ प्रकारका जडीबुटी नेपालगन्जमा जाम

नेपालबाट सबैभन्दा बढी जडीबुटी भारतमा निकासी हुँदै आएको छ । भारतले नेपालमा उत्पादन हुने ५४ प्रकारका जडीबुटी निकासीमा रोक लगाएको उनले बताए ।अध्यक्ष अन्सारीका अनुसार, भारतले रिठा, कुट्की, दालचिनी, पखानवेद, चुत्राको बोक्रा, चुत्राको काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अस्वगन्धा, जटामासी, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइलको तेलसमेत सूचीकृत गरेको छैन ।

‘निकासी बन्द भएपछि पहाडी जिल्लामा संकलनको कामसमेत रोकिएको छ,’ अध्यक्ष अन्सारीले भने । नेपालगन्ज नाकाबाट वर्षेनी करिब ५० करोडबराबरको ६५ हजार मेट्रिकटन जडीबुटी भारत निकासी हुने गदथ्यो । अहिले घटेर वार्षिक २० हजार मेट्रिकटन निकासी हुने गरेको नेपाल जडीबुटी व्यवसायी संघका सल्लाहकार रवीन्द्रनाथ शुक्लाले बताए । नयँपत्रिकाबाट

सम्बन्धित शिर्षक :