लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना र औषधी उत्पादन केन्द्र वनाईने

राप्ती उपत्यकाको भालुवाङमा सुविधायुक्त अस्पताल बन्ने

स्वास्थ्यसमाचार/ लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना चिकित्सालयको रुपमा विकास गर्दै प्रदेशको लागि आवश्यक आयुर्वेद औषधी उत्पादन केन्द्रको रुपमा विकास गरिने भएको छ । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना र आयुर्वेद औषधी उत्पादन केन्द्र वनाईने बताएका हुन् ।

त्यस्तै प्रदेशका आयुर्वेदिक स्वास्थ्य केन्द्र तथा चिकित्सालयहरूबाट आयुर्वेदिक औषधीहरूको उत्पादन र वितरणको कार्यलाई थप प्रभावकारी बनाइने। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र रुकुम पूर्वमा आयुर्वेदिक चिकित्सालयको स्थापना गरिनेछ।

विद्यार्थीहरूमाझ जडिबुटी पहिचानका कार्यक्रमहरू सञ्चालन गरिने। आयूर्वेद तथा प्रदेशमा प्रचलित अन्य परम्परागत प्राकृतिक चिकित्सा, योग लगायत अन्य बैकल्पिक चिकित्सा पद्धतिहरूको आधारभूत, बिशेषज्ञ तथा बिशिष्टिकृत स्वास्थ्य सेवा प्रभावकारी रुपमा उपलब्ध गराईनेछ।प्राकृतिक चिकित्सा, होमियोप्याथिक चिकित्सा लगायत अन्य वैकल्पिक चिकित्सा पद्धतिको विकास र विस्तार गरिने यादवले प्रस्तुत गरेको निति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै लुम्बिनी प्रदेशको राजधानी घोषणा भएको राप्ती उपत्यकाको भालुवाङमा सुविधायुक्त अस्पताल स्थापना हुने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख यादवले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनाको रुपमा समावेश गर्ने बताए । यी दुवै अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने घोषणा समेत गरे ।

उनले दाङ्गको लमहीमा आधुनिक स्तरको ट्रमा सेन्टर स्थापना गर्ने समेत बताए । प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रमुख यादवले प्रदेशका पहाडी जिल्ला प्युठान तथा गुल्मी अस्पतालमा डाइलाइसिस सेवा विस्तार गर्ने जनाए ।

गत वर्ष घोषणा गरिएको सरुवा रोगको उपचारको निमित्त संघीय सरकारसँगको सहकार्यमा कपिलवस्तुको शिवराज नगरपालिकामा बन्न लागेको विशिष्टिकृत अस्पतालको पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रमले लक्ष्य राखेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशमा सुविधा सम्पन्न प्रसुती अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ भने भीम अस्पताल भैरहवा, अर्घाखाँची अस्पताल, बर्दिया अस्पताल र नवलपरासी अस्पतालको नयाँ भवन निर्माणकार्य सुरु हुनेछ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई विएसएल २ का लागि आवश्यक भौतिक संरचना निर्माण हुने नीति तथा कार्यक्रममा उल्लेख छ । थायराइड, लिपिड प्रोफाइल तथा वायोकेमेष्ट्री परीक्षण सेवा प्रदान गर्नका लागि अस्पतालहरूमा प्रयोगशालाको स्तरोन्नति हुने भएका छन् । त्यस्तै, जिल्लास्थित अस्पतालहरूमा दन्त सेवा, प्राथमिक आँखा उपचार सेवा, फिजियोथेरापी लगायतका आधारभूत सेवाहरू विस्तार हुने वताए ।

सम्बन्धित शिर्षक :