जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ, थप फैलिँदै कोरोना

स्वास्थ्यसमाचार/ सर्वसाधारणबाटै जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना हुन नसक्दा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।

संक्रमण तीव्र रूपमा बढ्दै गए पनि आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना तथा कार्यान्वयमा हेलचेक्र्याइँ गर्दै आएका छन् । जसका कारण संक्रमित र मृतकको ग्राफ अप्रत्याशित रूपमा बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड २०७७ जारी गरे पनि अधिकांश बुँदाहरू कार्यान्वयनमा आम नागरिकहरू जिम्मेवार नबनेको देखिएको हो ।

मापदण्डमा अत्यावश्यकीय बुँदाअन्तर्गत सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दुरी कायम गर्ने उल्लेख छ । यस्तै, घर बाहिर जाँदा मास्क (सर्जिकल वा तीन तहको कपडाको मास्क)को प्रयोग अनिवार्य रूपले गर्ने गरी मापदण्ड तोकिएको छ ।

मापदण्डमा सबै सार्वजनिक स्थल तथा कार्यालयहरूले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा सेनिटाइजरको अनिवार्य व्यवस्था मिलाउने उल्लेख छ । यस्तै, अनावश्यक वस्तु वा सतहहरू नछुने, नाक, मुख र आँखा अनावश्यक रूपमा नछुने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय कारोबार गर्नुपर्ने व्यवस्था जनस्वास्थ्य मापदण्ड २०७७ मा गरिएको छ ।प्रशान्त ओलीले राजधानीमा लेखेका छन ।

सम्बन्धित शिर्षक :