कोरोनाले कसैलाई चिन्दैन सीमा क्षेत्रमा थप सर्तकता अपनाउ

प्रदेश सभाषद, रुपन्देही प्रहरी प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक मर्चवारमा

स्वास्थ्यसमाचार/ स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतमा गएका नागरिकहरु नेपाल भित्रिन थालेको गुनासो आएपछि प्रदेशसभा सांसद र रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरु मर्चवार पुगेका छन् ।मर्चवार क्षेत्रबाट त्यस्तो गुनासो आएपछि सांसद तथा प्रहरी प्रमुखहरु फिल्डमा खटेर जनप्रतिनिधिलाई सचेत बनाएका छन् ।

प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापा र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलसहितको सुरक्षा निकायको टोली रुपन्देहीको सम्मरीमाई गाउँपालिका–३ स्थित तरैनी नाका र मर्चवारी गाउँपालिका–१ स्थित खैराघाट नाका पुगेर स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीलाई कोरोनाविरुद्ध लड्नका लागि सीमा क्षेत्रको अनुगमन गर्न आग्रह गरेका छन् ।

प्रदेशसभा सांसद पाण्डेयले महामारीको सन्दर्भमा कुनै जात, धर्म, क्षेत्र र पार्टी नभएकोले जनताको सेवामा लागेको नाममा भारतमा रहेका नागरिकहरुलाई नेपाल भित्र्याउने काम नगर्न आग्रह गरे ।

उनले कोरोना भाइरसले कसैलाई नचिन्ने भएकोले सीमा क्षेत्रमा थप सर्तकता अपनाउन गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष मात्र नभई वडा सदस्यहरु समेत थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।मर्चवारको इतिहास लामो छ, कोटहीमाई गाउँपालिका–१ पुर्निहवामा कोरोना भाइरसको संक्रमण पुष्टी भएका व्यक्ति क्वारेन्टाइनमा पुगेर इमान्दारिता देखाएकोले महामारीबाट बचेका छौं, उनले भने ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक्लो प्रयासले मात्र महामारीविरुद्ध लड्न नसकिने भएकोले प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।आफ्ना नातेदार, इष्टमित्रलाई भित्र्याए त्यसबाट झन् डरलाग्दो परिस्थिति उत्पन्न हुन सक्ने भएकोले जनप्रतिनिधि, नागरिक तथा प्रशासनिक निकाय मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बताए ।

केही साथीहरुले सेना परिचालन गर्नुपर्ने समेत सुझाव दिनुभयो, तर जनप्रतिनिधि र नागरिकको सहयोग बिना महामारी नियन्त्रण हुन सक्दैन, सांसद पाण्डेयले भने । भारतबाट कोही नेपाल फर्केर घरमा बसेको भए क्वारेन्टाइनमा पु¥याउन जनप्रतिनिधिले भुमिका खेल्नुपर्ने उनको भनाइ छ ।भारतमा रहेका नेपाली नागरिकलाई २÷४ दिन उतै बस्न दिएर पहाड खस्दैन, तर महामारी आए पहाड खस्नु भन्दा खतरा हुन्छ, उनले भने ।

कोरोना भाइरसले नातेदार नचिन्ने भएकोले सीमा क्षेत्रमा खटिएका स्वयंसेवकले पनि आफ्नो नातेदार भित्र्याउने काम नगर्न आग्रह गरे । अब कसैलाई पनि नाकाबाट आवातजावत गर्न नदिन नागरिकले नै स्वयंसेवकको भुमिका खेल्नुपर्ने बताए । कोरोनाविरुद्ध लड्न केही समय कठोर बनेर पनि नागरिकलाई महामारीबाट बचाउनुपर्ने उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक एसपी हेम कुमार थापाले नागरिक सुरक्षित हुन नसके जनप्रतिनिधि र प्रहरीको के काम भन्दै प्रश्न गरे । उनले प्रहरी नागरिकको सुरक्षाको लागि चिन्तित भएको बताए ।

एसपी थापाले प्रहरी समस्या समाधान गर्न तयार रहेको बताए । सानो समस्यालाई सबै मिलेर समाधान गर्नुस्, सानो समस्यालाई ठूलो नबनाउनुस्, उनले भने । जिल्लावासीको सुरक्षाप्रति प्रहरी अझ बढी चिन्तित भइ सुरक्षा सतर्कता बढाएको उनको भनाइ छ ।

सशस्त्र प्रहरी नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले दुई किलो चिनी सस्तो पाइन्छ भन्ने नाममा स्वास्थ्यमाथि खेलवाड नगर्न आग्रह गरे । उनले प्रहरीलाई दुश्मनको रुपमा नबुझी सहयोगीको रुपमा बुझ्न आग्रह गरे । जनताको सुरक्षाको लागि प्रहरी लाग्नु प्रहरीको दायित्व भएको उनको भनाइ छ ।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले परिवार, गाउँ र समाज बचाउन केही समयको लागि कष्ट सहनुपर्ने बताए । उनले सबैलाई सुरक्षित बनाउनु नै अहिलेको प्रमुख कार्य भएको बताए ।सम्मरीमाई गाउँपालिका र मर्चवार गाउँपालिकाका वडाअध्यक्षहरुले कोरोनाविरुद्ध लड्न अब थप जिम्मेवारी भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनिया, सम्मरीमाई÷मर्चवारी गाउँपालिकाका वडाअध्यक्षहरु, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ समिति सदस्य राम विकास चौधरी, समाजवादी पार्टी सिद्धार्थनगर इञ्चार्ज बैजनाथ गुप्ता (बी.एन.), समाजवादीका युवा नेता कन्हैया बनिया लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक :