प्रतिमान नीमा प्रतिष्ठान द्धारा लुम्बिनी र भीम अस्पताललाई पिपिई प्रदान

कोभिड–१९विरुद्ध फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई प्रतिष्ठानले तालिम प्रदान गर्ने

स्वास्थ्यसमाचार/ प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई ५-५ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदान गरेको छ ।

प्रतिष्ठानले दुईवटै अस्पताललाई पीपीई ५ थान, फेस सेल्ड (हेल्मेट), ५ थान, पञ्जा ५ जोडा, स्यानेटाइजर २० पिस र बुट ५ जोडा उपलब्ध गराएको प्रतिष्ठान कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्म बहादुर के.सी.ले लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. राजेन्द्र प्रसाद खनाल र भीम अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नाललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै डा. खनालले अस्पताललाई सुरक्षा कवचको अभावमा काम सञ्चालन गरिरहेको अवस्थामा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले पीपीईसहित अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे । उनले विभिन्न सहयोगी हातहरुका कारण अस्पताललाई कार्यसम्पादन गर्न सहज भएको बताए ।
भीम अस्पपतालका मेसु डा. दर्नालले आगामी दिनमा पनि प्रतिमान–नीमा स्मृति फाउण्डेशनसंग समन्वय र सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ मा विभिन्न क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आफ्नो भवन क्वारेन्टाइनको रुपमा दिएकोमा धन्यवाद दिए ।

उनले आफ्नो स्रोतबाट कोभिड–१९ विरुद्ध लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताललाई पीपीईसहित अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराउने कार्य प्रशसंनीय रहेको बताए । केही दिनमा रोहिणी, ओमसतिया र सियारी गाउँपालिकालाई पनि ४/४ थान पीपीई उपलब्ध गराउने फाउण्डेशनका निर्देशक धर्म बहादुर के.सी.ले बताए ।

स्वास्थ्यकर्मीलाई तालिम

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई प्रतिष्ठानले आगामी हप्ता तालिम प्रदान गर्ने जनाएको छ ।
अमेरिकाको ब्राउन युनिभर्सिटी, मसेडोनियाको प्रोजेक्ट होपको सहयोग र प्रदेश ५ सामाजिक विकास मन्त्रालयको समन्वयमा कोरोनाविरुद्ध लड्नका लागि तालिम सञ्चालन गर्न लागिएको प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।

हामीले पहिलो चरणमा विभिन्न जिल्लाका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी गरी १० जनालाई डट्स टे«निङ (तालिम) प्रदान गर्नेछौं, तालिम लिएपछि उहाँहरुले २ हजार बढी फ्रन्टलाइनमा काम गर्नेलाई आफुले सिकेका कुरा अरुलाई सिकाउनुहुनेछ, थापाले भनिन् ।

एक जनाले फ्रन्टलाइनमा रहेर काम गर्ने २ देखि ३ सयसम्मलाई कोरोनाविरुद्ध लड्न सिकाउनुहुनेछ, उनले भनिन् । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले छोटो समयमा कोरोनाविरुद्ध लड्न स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गर्न लागेको बताए ।

सम्बन्धित शिर्षक :