स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य संस्था भिम अस्पताल, भैरहवामा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. वर्षा थापाले जिम्मेवारी सम्हालेको ८ महिनाको अवधिमा अस्पतालको सेवा प्रवाह, प्रविधि र भौतिक पूर्वाधारमा उल्लेख्य सुधार आएको छ।
सीमित स्रोत र साधनका बाबजुद पनि कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गर्दै डा. थापाको नेतृत्वले अस्पताललाई आम नागरिकको भरोसाको केन्द्र बनाउन सफल भएको छ। आर्थिक वर्ष २०८२-०८३ को यो अवधिमा अस्पतालले सेवाग्राहीमैत्री, प्रविधिमैत्री र गुणस्तरीय स्वास्थ्य सेवाको गतिलो उदाहरण प्रस्तुत गरेको छ।
डा. थापाले जिम्मेवारी सम्हालेलगत्तै सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि नै जनरल प्राक्टिसनर (जीपी) क्लिनिक सञ्चालनमा ल्याइएको छ भने मेडिसिन विभागको ओपीडी सेवा नयाँ भवनबाट सुचारु गरिएको छ।
औषधि लिन हुने भीडभाड कम गर्न फार्मेसी काउन्टर २ बाट बढाएर ४ वटा पुर्याइएको छ। साथै, स्वास्थ्य बीमा र इमर्जेन्सीका लागि छुट्टै काउन्टरको व्यवस्था गर्नुका साथै सफ्टवेयर र सर्बर अपडेट गरेर टिकट काट्ने क्रममा हुने लामो ढिलाइको समस्या हल गरिएको मेसु डा. थापाले बताउनुभयो।
अस्पतालको प्रविधि र उपचार कक्षमा पनि ठूलो फड्को मारिएको छ। अस्पतालमा एआई (AI) प्रविधिसहितको अत्याधुनिक डिजिटल एक्स–रे जडान गरी सञ्चालनमा ल्याइएको छ भने ल्याब सेवालाई थप गुणस्तरीय बनाइएको छ।
मेडिसिन अन्तरङ्ग विभागलाई वातानुकूलित बनाइनुका साथै एचडीयू (HDU), आईसीयू (ICU) र आइसोलेसन वार्ड स्थापना गरिएको छ। नयाँ भवनमा लिफ्ट र अक्सिजन पाइपलाइन विस्तार गरी प्रसूति तथा बालरोग विभागलाई व्यवस्थित गरिएको छ।
साथै, अस्पतालका सम्पूर्ण कर्मचारीलाई निःशुल्क स्वास्थ्य बीमामा आवद्ध गर्नुका साथै नियमित रूपमा सीएमई (CME) सञ्चालन गरिएको छ।अस्पताललाई थप विशिष्टीकृत बनाउने उद्देश्यसहित आगामी दिनमा ओपीजी (OPG) र इको (ECHO) सेवा सुरु गर्ने, ‘अटोमेटिक ल्याब रिपोर्ट डिप्याच सिस्टम’ र अनलाइन टिकटिङका लागि सफ्टवेयरको स्तरोन्नति गर्ने कार्य अघि बढाइएको डा. थापाले जानकारी दिनुभयो।
साथै, एनआईसीयू (NICU) स्थापना, ल्याप्रोस्कोपिक प्रसूति सर्जरी सेवा र पोस्टमार्टम भवनको स्तरोन्नति गर्ने योजनालाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो।
अस्पतालको प्रशासनिक व्यवस्थापन, अध्यक्ष, कर्मचारी तथा यस क्षेत्रका संघीय एवं प्रदेश माननीय पत्रकार तथा सबैको सहयोगबाट यो सफलता हासिल भएको डा. थापाको भनाइ छ। सेवाको गुणस्तरमा ढिलाइ वा अन्य केही समस्या भएमा अस्पतालमा आएर खबर गर्न उहाँले सेवाग्राहीलाई आग्रह गर्नुभएको छ।
फरक प्रसंगमा बोल्दै उहाँले भिम अस्पतालमा लाइन गएको बेला जेनेरेटरको व्यवस्था रहेकाले बत्ती जाने समस्या नरहेको स्पष्ट पार्नुभयो। साथै, अस्पतालको निरन्तर सुधारका लागि कर्मचारीको मात्र नभई स्थानीय सरोकारवाला तथा सम्बन्धित निकायको रचनात्मक खबरदारी समेत आवश्यक रहेको उहाँले औंल्याउनुभयो।


प्रतिकया दिनुहोस्