कार्यान्वयन गर्न नसकिने कानुन निर्माण गर्नु हुँदैन : स्वास्थ्यमन्त्री घिमिरे

अफिन लुम्बिनी प्रदेशको नयाँ नेतृत्व अध्यक्षमा भीमप्रसाद तुलाचन सर्वसम्मत

 

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले व्यवहारमा कार्यान्वयन गर्न नसकिने कानुन तथा नीतिहरू निर्माण गर्नुको कुनै औचित्य नहुने बताएका छन्।

कानुन निर्माणभन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र नागरिकमैत्री बनाउन व्यवहारिक कानुन आवश्यक रहेको बताए।

शनिबार दाङको भालुवाङमा एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन्स अफ नेपाल (अफिन) लुम्बिनी प्रदेशद्वारा आयोजित १२औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले नेपालमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित धेरै कानुन, नीति र निर्देशिका बने पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको बताए।

उनले कानुन निर्माण गर्दा त्यसको व्यवहारिक पक्ष, कार्यान्वयन क्षमता र नागरिकको आवश्यकता केन्द्रमा राख्नुपर्नेमा जोड दिए। कानुन कागजमा सीमित रहने होइन, व्यवहारमा प्रभावकारी रूपमा लागू हुने खालको हुनुपर्ने उनको भनाइ थियो। कार्यान्वयन गर्न नसकिने कानुनले सेवाग्राही, स्वास्थ्य संस्था र सरकार तीनै पक्षलाई समस्या सिर्जना गर्ने भएकाले नीति निर्माणका क्रममा व्यवहारिकतालाई प्राथमिकता दिनुपर्ने उनले बताए।

मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्रमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र र सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। स्वास्थ्य सेवा सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा भोगिरहेका धेरै चुनौतीको जड संघीय सरकारबाट बनेका केही नीति तथा व्यवस्थामा रहेको बताए। संविधानले प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जिम्मेवारी दिएको भए पनि आवश्यक अधिकार, स्रोतसाधन तथा नीतिगत स्पष्टताको अभावका कारण अपेक्षित रूपमा काम गर्न कठिनाइ भइरहेको उनको भनाइ थियो।

संघीय सरकारसँग समन्वय गरी प्रदेश सरकारले स्वास्थ्य सेवा सुधारका लागि निरन्तर पहल गरिरहेको उनले जानकारी दिए।सरकारले समस्या थप्ने होइन, समाधान खोज्ने भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रका सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताए।

मन्त्री घिमिरेले नेपालको समग्र विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्र सबल नभएसम्म मुलुकले अपेक्षित आर्थिक तथा सामाजिक विकास हासिल गर्न नसक्ने धारणा व्यक्त गरे। निजी स्वास्थ्य संस्थाहरूले उपचार सेवा विस्तार, आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई नियमन गर्ने नाममा अनावश्यक झन्झट सिर्जना गर्नु उचित नहुने बताए।

उनले सरकार र निजी क्षेत्रबीच प्रतिस्पर्धा होइन, सहकार्य हुनुपर्नेमा जोड दिँदै निजी क्षेत्रको लगानी सुरक्षित हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सरकारी र निजी क्षेत्रको साझेदारीबाट मात्र नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने उनको भनाइ थियो।

अफिन लुम्बिनी प्रदेशका अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डा. पदम खड्का, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, अफिनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरि रिजाल, नेपाल औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष तथा अफिन लुम्बिनी प्रदेशका सल्लाहकार बाबुराम भट्टराई, नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष जेपी कँडेल, अफिन बाँकेका संस्थापक अध्यक्ष डा. विनोद थापा तथा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको प्रारम्भ अफिन लुम्बिनी प्रदेशका सदस्य विक्रम खड्काको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन महासचिव केदारनाथ नेपालले गरेका थिए।

सम्बन्धित शिर्षक :