स्वास्थ्यसमाचार/ बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयले मातृशिशु तथा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ। तिलोत्तमा नगरपालिका–४ स्थित श्रृगेश्वरधाममा आयोजना गरिएको उक्त शिविरमा एक सयभन्दा बढी जेष्ठ नागरिक तथा अन्य सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा तथा औषधी प्राप्त गर्नु भयो ।
लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवलको आयोजनामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको चिकित्सालयले जनाएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष शालिकराम भुसालको अध्यक्षता तथा श्रृगेश्वरधाम ज्येष्ठ नागरिक समितिका अध्यक्ष यदुनाथ पान्डेको प्रमुख अतिथि मोतिलाल उपाध्याय र महिला प्रतिनिधि कृष्णा लम्सालको विशिष्ट आतिथ्यमा शिबिर सम्पन्न भएको थियो ।

शिबिरमा वोल्दै प्रमुख अतिथि पान्डेले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य नियमित रूपमा जाँच हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता शिविरहरूले उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र समयमै उपचार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। उनहाले समुदायस्तरमै स्वास्थ्य सेवा पुग्नु सकारात्मक भएको भन्दै यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेकोमा जोड दिनु भयो।
कार्यक्रमका अध्यक्ष शालिकराम भुसालले ज्येष्ठ नागरिकहरूको सेवामा योगदान पु¥याउन पाउनु चिकित्सालयका लागि गौरवको विषय भएको बताउनु भयो। उहाले गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सालय निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता शिविरलाई नियमित रूपमा सञ्चालन गरिने जानकारी गराउनु भयो। साथै, मातृशिशु तथा ज्येष्ठ नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक परेको खण्डमा सम्बन्धित क्षेत्रमा थप सेवा दिन चिकित्सालय तयार रहेको समेत स्पष्ट पार्नु भयो ।आयुर्वेद उपचार दिर्घकालिन र भरपदो रहेको भुसालको भनाइ थियो।

त्यसैगरी विशिष्ट अतिथि मोतिलाल उपाध्याय र महिला प्रतिनिधि कृष्णा लम्सालले यस्ता कार्यक्रमले आफुहरुको स्वास्थ्यप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो उहाहरुले स्वास्थ्य सेवाको पहुँच सबै नागरिकसम्म प्रभावकारी रूपमा पु¥याउन सम्बन्धित निकायको अझ सक्रिय भूमिका आवश्यक रहेको धारणा समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य प्रस्तुत गर्दै लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका चिकित्सक डा. योगेश ढकालले शिविरमार्फत विभिन्न स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधी वितरण गरिएको जानकारी गराउनु भयो। उहाले आयुर्वेदिक उपचार पद्धतिले दीर्घकालीन स्वास्थ्य सुधारमा सहयोग पु¥याउने भएकाले यस्ता कार्यक्रम समुदायका लागि अत्यन्त लाभदायक रहेको हुनाले आफुहरुले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिएको बताउनु भयो ।
शिविरमा ९७ वर्षीय तुल्सीराम पौडेल, खडानन्द चापागाईं र हर्कबहादुर कुबरलगायत ज्येष्ठ नागरिकहरूको विशेष स्वास्थ्य परीक्षण गरिएको थियो। उहाहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्नु भयो ।
चिकित्सालयका अनुसार शिविरमा एक सयभन्दा बढी सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा रगत, पिसाब, रक्तचाप (ब्लड प्रेसर), सुगरलगायत आधारभूत स्वास्थ्य जाँचहरू गरिएको थियो। साथै आवश्यक परामर्श तथा निःशुल्क औषधी वितरण समेत गरिएको थियो।
कार्यक्रम संयोजक तथा चिकित्सालयका वरिष्ठ अधिकृत (आठौं) गणेश सापकोटाले मातृशिशु तथा ज्येष्ठ नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रम निरन्तर सञ्चालन भइरहेको गरेको बताउनु भयो। उहाँले समुदायस्तरमै आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै यसको प्रभावकारिता अझ बढाउने उद्देश्यले शिविरलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नु भयो।
निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै ज्येष्ठ नागरिक तथा मातृशिशु स्वास्थ्य सेवामा सकारात्मक योगदान पु¥याउने उदेश्य रहेको सापकोटाको भनाई छ ।


प्रतिकया दिनुहोस्