स्वास्थ्यसमाचार /स्वास्थ्य मन्त्रालयले लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवलको विकास समितिको अध्यक्षमा शालिकराम भुसाललाई नियुक्त गरेको छ।
अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०५० (पहिलो संशोधनसहित) तथा २०५१ को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम मिति २०८२/०९/३० मा मन्त्रालयस्तरीय निर्णय गर्दै भुसाललाई अध्यक्ष पदमा मनोनयन गरिएको स्वास्थ्य मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालय, राप्ती उपत्यका (देउखुरी) ले जारी गरेको पत्रअनुसार सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदान, शैक्षिक योग्यता, व्यावसायिक क्षमता तथा अनुभवलाई उच्च मूल्यांकन गर्दै भुसाललाई विकास समितिको अध्यक्ष पदमा नियुक्त गरिएको हो।
पत्रमा आयुर्वेद चिकित्सालयको सेवा गुणस्तर अभिवृद्धि, सेवाग्राही सन्तुष्टि वृद्धि, सुशासन प्रवर्द्धन तथा संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको उल्लेख छ।
रुपन्देहीको तिलोत्तमा निवासी भुसालले आयुर्वेद स्वास्थ्यसहायक (एचए)अध्ययन पूरा गरेका छन् भने उच्च शिक्षामा स्नातकोत्तर (एमए) समेत हासिल गरेका छन्। उनी विभिन्न संघ–संस्थामा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्।
लुम्बिनी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै भुसालले भने, “आयुर्वेद चिकित्सालयको सेवा गुणस्तर सुधार, जनमैत्री उपचार प्रणालीको विस्तार र सेवाग्राहीको विश्वास अभिवृद्धि मेरो प्रमुख प्राथमिकता रहनेछ। प्रदेश सरकारको भरोसालाई इमानदार र जिम्मेवार ढंगले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”


प्रतिकया दिनुहोस्