‘हेल्थ एट होम’ सेवाको वरिष्ठ चिकित्सक डा. नन्दु पाठकद्वारा उद्घाटन

स्वास्थ्यसमाचार/ रुपन्देहीमा स्वास्थ्य सेवामा नयाँ अभ्यासका रूपमा सुरु गरिएको ‘हेल्थ एट होम’ (घरमै स्वास्थ्य सेवा) कार्यक्रम वरिष्ठ चिकित्सक डा. नन्दु पाठकले रिबन काटेर उद्घाटन गर्नुभएको छ।

उहाँले यो सेवा बिरामीमैत्री अवधारणामा आधारित रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ र आवश्यक कदम भएको बताउनुभयो।

उद्घाटन कार्यक्रममा बोल्दै डा. पाठकले घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने यो पहलले विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अस्पतालसम्म पुग्न कठिनाइ हुने बिरामीहरूलाई ठूलो राहत दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले आर्थिक रूपमा सक्षम भए पनि घरमै सेवा लिन चाहने नागरिकका लागि पनि यो सेवा उपयोगी हुने बताउनुभयो।

करिब ७० लाख रुपैयाँको लगानीमा सुरु गरिएको यस सेवाले अब बिरामीलाई अस्पताल धाउनुपर्ने बाध्यता घटाउँदै घरमै स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श उपलब्ध गराउने लक्ष्य लिएको छ। सेवाका एमडी निरञ्जन पोखरेलका अनुसार नेपालमै पहिलो पटक व्यवस्थित ‘होम हेल्थ केयर’ सेवा सुरु गरिएको हो, जुन विकसित देशहरूमा पहिले नै लोकप्रिय रहेको छ।

सञ्चालक मिम बहादुर सिंहका अनुसार सेवाअन्तर्गत चिकित्सक तथा नर्स घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गर्ने, औषधि घरमै पुर्‍याउने तथा आवश्यक स्वास्थ्य परामर्श दिने व्यवस्था गरिएको छ। साथै मानसिक स्वास्थ्य परामर्श र फिजियोथेरापी सेवा पनि घरमै उपलब्ध गराइनेछ।

डा चन्द्रकान्त घिमिरेले बोल्दै यो सेवाले यसक्षेत्रका नागरिकहरुलाई उपचार पाउनमा थप सहज हुने बताए । डिजिटल प्रणालीमार्फत अपोइन्टमेन्ट बुकिङ, अनलाइन परामर्श तथा विदेशमा रहेका आफन्तले बिरामीको अवस्था बुझ्न सक्ने सुविधा पनि रहेको छ। हाल बुटवल, तिलोत्तमा र सैनामैना क्षेत्रमा सेवा सुरु गरिएको छ भने आगामी दिनमा अन्य जिल्लामा विस्तार गर्ने योजना रहेको छ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :