पर्यटन मन्त्रालयको निर्देशन: विमानस्थलमा स्वास्थ्यमैत्री सेवा, स्तनपान कक्ष र निःशुल्क स्यानिटरी प्याड अनिवार्य

स्वास्थ्यसमाचार/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सम्पूर्ण विमानस्थलहरूमा स्वास्थ्यसम्बन्धी सेवा र सुविधाहरू अनिवार्य रूपमा व्यवस्था गर्न निर्देशन दिएको छ। यात्रुहरूको सुविधा, स्वास्थ्य सुरक्षा तथा मर्यादित सेवा सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले यस्तो निर्णय गरेको हो।

निर्देशनअनुसार विमानस्थलहरूमा स्तनपान गराउने आमाहरूका लागि सफा, सुरक्षित र गोपनीयता सुनिश्चित गरिएको स्तनपान तथा बेबी-चेन्जिङ कक्ष सञ्चालन गर्नुपर्नेछ। यसअघि रहेका कक्षहरूलाई समेत आवश्यकतानुसार स्तरोन्नति गर्न भनिएको छ।

त्यसैगरी, बिरामी, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका यात्रुहरूको सहजताका लागि प्राथमिक हेरचाह कक्ष अनिवार्य रूपमा व्यवस्था गर्नुपर्नेछ। यस्तो कक्षले आकस्मिक स्वास्थ्य समस्या भएका यात्रुलाई तत्काल सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

महिला यात्रुहरूको आपतकालीन आवश्यकतालाई ध्यानमा राख्दै प्रमुख शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था पनि गर्न निर्देशन दिइएको छ। मन्त्रालयले विमानस्थल परिसरमा सरसफाई तथा स्वच्छता मापदण्ड कडाइका साथ लागू गर्न जोड दिएको छ।

दैनिक सरसफाई लगबुक प्रणाली लागू गर्ने, World Health Organization (WHO) तथा International Civil Aviation Organization (ICAO) ले निर्धारण गरेका मापदण्डहरूको पालना गर्ने, साथै नियमित निरीक्षण र अभिलेखीकरण सुनिश्चित गर्न भनिएको छ। यस निर्देशनले देशका विमानस्थलहरूलाई अझ स्वास्थ्यमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :