रुपन्देहीमा ‘हेल्थ एट होम’ सेवा सुरु, अब घरदैलोमै स्वास्थ्य सुविधा

रुपन्देहीमा स्वास्थ्य सेवामा नयाँ अभ्यासको रूपमा ‘हेल्थ एट होम’ (घरमै स्वास्थ्य सेवा) सुरु गरिएको छ। करिब ७० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको यस सेवाले बिरामीलाई अस्पताल धाउनुपर्ने बाध्यता घटाउँदै घरमै सहज, छिटो र गुणस्तरीय उपचार उपलब्ध गराउने लक्ष्य लिएको छ।

सेवाका एमडी निरञ्जन पोखरेलका अनुसार नेपालमा यस प्रकारको व्यवस्थित र समग्र ‘होम हेल्थ केयर’ सेवा पहिलो पटक सुरु गरिएको हो। उनले विकसित देशहरूमा यस्ता सेवाहरू पहिले नै लोकप्रिय रहेको उल्लेख गर्दै नेपालमा पनि यसको आवश्यकता बढ्दै गएको बताए। “व्यस्त जीवनशैली, ज्येष्ठ नागरिकको बढ्दो संख्या र दीर्घरोगी बिरामीहरूको सुविधालाई ध्यानमा राखेर हामीले यो सेवा सुरु गरेका हौं,” उनले भने।

संस्थाका सञ्चालक मिम बहादुर सिंहका अनुसार ‘हेल्थ एट होम’ सेवा अन्तर्गत बिरामीको घरमै डाक्टर तथा नर्स पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ। यससँगै प्रयोगशाला परीक्षणका लागि आवश्यक नमुना घरमै संकलन गर्ने, औषधि घरमै पुर्‍याउने तथा आवश्यक स्वास्थ्य परामर्श दिने सुविधा पनि उपलब्ध गराइएको छ।

सेवामा मानसिक स्वास्थ्य र मनोपरामर्शलाई समेत प्राथमिकतामा राखिएको छ। तनाव, चिन्ता तथा डिप्रेसनजस्ता समस्याबाट ग्रसित व्यक्तिहरूलाई विशेषज्ञमार्फत घरमै वा अनलाइनमार्फत परामर्श दिने व्यवस्था गरिएको छ। साथै, फिजियोथेरापी सेवा पनि घरमै उपलब्ध गराइने भएकाले हाडजोर्नी तथा चोटपटकका बिरामीहरूका लागि यो सेवा अझ उपयोगी हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, दीर्घरोगी तथा शारीरिक रूपमा अशक्त बिरामीहरूका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरू—जस्तै अक्सिजन सिलिन्डर, बेड, व्हीलचेयर लगायतका सामग्री घरमै उपलब्ध गराउने व्यवस्था गरिएको सञ्चालक सिंहले जानकारी दिए। यसले बिरामीको हेरचाहलाई अझ सहज बनाउने विश्वास गरिएको छ।

‘हेल्थ एट होम’ सेवाले डिजिटल प्रविधिलाई समेत प्राथमिकता दिएको छ। सेवाग्राहीले मोबाइल एप वा वेबसाइटमार्फत आफूलाई आवश्यक पर्ने सेवा छनोट गर्न, डाक्टरसँग भेट्ने समय बुक गर्न तथा अनलाइनमार्फत विशेषज्ञसँग परामर्श लिन सक्नेछन्। विदेशमा रहेका आफन्तहरूले समेत आफ्ना परिवारका सदस्यहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र परामर्शको व्यवस्था मिलाउन सक्ने सुविधा रहेको बताइएको छ।

कोरोना महामारीपछि स्वास्थ्य सेवामा आएको परिवर्तनसँगै घरमै सेवा लिने प्रवृत्ति बढ्दै गएको छ। यस्तो अवस्थामा ‘हेल्थ एट होम’ जस्ता सेवाले स्वास्थ्य प्रणालीलाई थप सुलभ, प्रभावकारी र पहुँचयोग्य बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी, अपांगता भएका व्यक्ति तथा अत्यधिक व्यस्त जीवनशैली भएका व्यक्तिहरूका लागि लक्षित गरिएको यो सेवा अहिले बुटबल तिलोत्तमा र सैनामैनामा  र आगामी दिनमा विस्तार गर्दै अन्य जिल्लाहरूमा पनि पुर्‍याउने योजना रहेको एमडी निरञ्जन पोखरेलले बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :