स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रभावकारी, पारदर्शी तथा नागरिकमैत्री बनाउन उच्चस्तरीय समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको हो।
समितिमा डा. सरोज शर्मा, डा. भीमप्रसाद सापकोटा, उपसचिव मित्रप्रसाद घिमिरे, वरिष्ठ औषधि व्यवस्थापक प्रशासक उषा तण्डुकार तथा शाखा अधिकृत सुरजप्रकाश अर्याल सदस्यका रूपमा रहेका छन्।
मन्त्रालयका अनुसार यस पहलले स्वास्थ्य सेवालाई थप व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।मन्त्रालयले समितिलाई १५ दिनको समयसीमा तोक्दै चार महत्वपूर्ण कार्यादेश दिएको छ।
हेरौं कार्यादेश:
समितिलाई पहिलो चरणमा १५ दिनभित्र ‘Free Health Portal’ निर्माण गरी कार्यान्वयनमा ल्याउने जिम्मेवारी दिइएको छ। त्यसैगरी, बिरामीको उपचार इतिहास, रिफरल प्रणाली, पुनःसेवा तथा क्लिनिकल फलोअप व्यवस्थित गर्न डिजिटल, एकीकृत तथा अन्तरआवद्ध स्वास्थ्य सूचना प्रणाली (Patient Record System) तीन महिनाभित्र विकास गरिनेछ।
यस प्रणालीमार्फत अनावश्यक रूपमा निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न स्पष्ट रिफरल प्रोटोकल समेत लागू गरिने बताइएको छ।
सरकारी अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको उपस्थितिको निगरानीका लागि GIOMS प्रणाली अनिवार्य रूपमा लागू गरिनेछ।यस्तै, अस्पताल फार्मेसीहरूमा औषधिको मौज्दात तथा मूल्य देखिने डिजिटल प्रणाली १५ दिनभित्र निर्माण गरी सञ्चालनमा ल्याइने तथा नियमित अनुगमन गरिने मन्त्रालयले जनाएको छ।


प्रतिकया दिनुहोस्