स्वास्थ्यसमाचार/ रुपन्देही मिर्गौला रोग नेपालमा बिस्तारै गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखिन थालेको छ। विशेषगरी लुम्बिनी प्रदेशमा मिर्गौला रोगीहरूको संख्या निरन्तर बढ्दै जाँदा उपचार, पूर्वाधार र विश्वसनीय तथ्यांक व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ।
यही सन्दर्भमा रुपन्देही स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल ले विश्व मिर्गौला दिवस २०२६ विभिन्न सचेतनामूलक कार्यक्रमसहित मनाएको छ। कार्यक्रममा चिकित्सक, उद्योगी, सामाजिक क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थी ले मिर्गौला रोगलाई बेवास्ता गर्दा स्वास्थ्यमा थप चुनौती भएको बताउनु भयो। उहाँले समयमै रोग पहिचान र उपचारको पहुँच विस्तार गर्न राज्यले थप पहल गर्नुपर्ने उल्लेख गर्नु भयो।
“मिर्गौला रोग धेरैजसो अवस्थामा अन्तिम चरणमा मात्र पत्ता लाग्छ। त्यसैले जनचेतना बढाउनु र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिनु अत्यन्त आवश्यक छ,” उहाँले भन्नु भयोे।
प्रदेशभरि डायलाइसिसमा १३६० बिरामी
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार लुम्बिनी प्रदेशभरि हाल करिब १३सय ६० जना बिरामी नियमित डायलाइसिस सेवा लिइरहेका छन्। तीमध्ये करिब ५५० जना बिरामीले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमै डायलाइसिस गराइरहेको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत कमल भण्डारीले बताउनु भयो ।
मिर्गौला रोग विशेषज्ञ डा. रजत कायस्थ का अनुसार पछिल्ला वर्षहरूमा मधुमेह, उच्च रक्तचाप, अस्वस्थ खानपान र जीवनशैलीका कारण मिर्गौला रोगीको संख्या बढिरहेको बताउनु भयो ।उहाँले भन्नु भयोे, “मिर्गौला रोग लामो समयसम्म लक्षण नदेखिने रोग हो।
धेरै बिरामी अन्तिम चरणमा पुगेर मात्र अस्पताल आउने गरेका छन्, जसले उपचार अझ जटिल बनाउँछ।”बेलैमा सचेत बन्नु आबश्यक रहेको उहाँको भनाई छ ।अस्पतालका अध्यक्ष एजाज आलम को अध्यक्षता तथा अस्पतालका सचिव बाबुराम बोहराको सञ्चालनमा सचेतनामूलक कार्यक्रम कार्यक्रम भएको थियो।
तथ्यांक व्यवस्थापन अझै चुनौती
यद्यपि लुम्बिनी प्रदेशभरि मिर्गौला रोगीहरूको सम्पूर्ण र एकीकृत तथ्यांक भने अझै उपलब्ध छैन। स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार “प्रदेशमा १३ सय ६० छन भन्ने मोटामोटी तथ्यांक रहेको जनाइएको छ ।
सबै अस्पतालसँग समन्वय गरेर एकीकृत तथ्यांक तयार गर्ने योजना बनाइएको निर्देशनालयले जनाएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरी पूर्ण तथ्यांक उपलब्ध नभएको स्वीकार गर्नु भयो ।
गौतमबुद्ध सामुदायीक मुटु अस्पतालका निर्देशक तथा मिर्गौला रोग विशेषज्ञ डा. समीर गौतम ले मिर्गौला रोग उपचारका लागि अस्पतालले बिभिन्न बाधा कठिनाई सहेर पनि सेवा दिदै आएको बताउनु भयो ।
डा गौतमले मिर्गौला रोगको जोखिम कम गर्न नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, पर्याप्त पानी सेवन, धुम्रपान र मदिरा सेवनबाट टाढा रहनु तथा मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्नु अत्यन्त आवश्यक रहेको बताउदै भन्नु भयो समयमै परीक्षण र सचेतना नै मिर्गौला रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो।

प्रतिकया दिनुहोस्