एच.पि.भी. खोप अभियान २०८२ : सबै मिलेर सफल पारौं

बुटबल /नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध एच.पि.भी. (HPV) खोप देशभर एकैसाथ राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न लागेको छ। यो अभियान वि.सं. २०८२ माघ २५ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।लुम्बिनी प्रदेशमा भने यो अभियान माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुँदैछ।

स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने सूचीकृत स्वास्थ्य संस्थामार्फत कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन–अध्यापन हुने विद्यालयहरूलाई खोप केन्द्रका रूपमा स्थापना गरी निःशुल्क रूपमा राष्ट्रिय खोप अभियान सञ्चालन गरिँदैछ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सरजस्तो घातक रोगबाट भविष्यका कर्णधारका रूपमा रहेका बालिकाहरूलाई पूर्ण रूपमा सुरक्षित गर्न बाबुआमा, दाजुभाइ, दिदीबहिनी, स्वास्थ्यकर्मी तथा सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहन्छ। भनिन्छ- “रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु नै उत्तम।” यही मान्यतालाई आत्मसात् गर्दै यो अभियानलाई विशेष महत्वका साथ अघि बढाइएको छ।

त्यसैले स्वास्थ्य संस्थामार्फत सञ्चालन हुने यो कार्यक्रमलाई अत्यन्त संवेदनशील तथा अनिवार्य कार्यक्रमका रूपमा लिन आवश्यक छ।यसै कारण, वि.सं. २०८२ माघ २५ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुने एच.पि.भी. खोप अभियानमा सम्पूर्ण सरोकारवालाहरूको सक्रिय सहभागिताबाट सफल बनाउनु हामी सबैको दायित्व र कर्तव्य हो।

एच.पि.भी. (HPV) अर्थात् ह्युमन प्यापिलोमा भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हो। यस भाइरसका २०० भन्दा बढी प्रकार छन्, जसमध्ये १२ प्रकारलाई पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारकका रूपमा मानिन्छ। तीमध्ये पनि प्रकार १६ र १८ सबैभन्दा जोखिमयुक्त मानिन्छन्।

विभिन्न अध्ययनअनुसार नेपालमा हुने पाठेघरको मुखको क्यान्सरका करिब ८० प्रतिशत घटना यी दुई प्रकारका भाइरसका कारण हुने गरेको पाइन्छ। पाठेघरको मुखको क्यान्सर मुख्यतः एच.पि.भी. भाइरसको संक्रमणबाट हुने गर्दछ।

नेपालमा प्रत्येक दिन औसतमा ४ जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण हुने गरेको छ। विभिन्न क्यान्सरमध्ये महिलाको मृत्युको प्रमुख कारणका रूपमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ।

एच.पि.भी. खोपको महत्व

एच.पि.भी. खोप निःशुल्क उपलब्ध छ। यो खोप सुरक्षित छ र जीवन रक्षा गर्ने प्रभावकारी माध्यम हो। खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने महत्वपूर्ण साधन हो। हाल विश्वका १४४ देशले एच.पि.भी. खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरूलाई प्रदान गरिरहेका छन्। विभिन्न अध्ययनहरूले यस खोपको प्रभावकारिता उच्च (लगभग शतप्रतिशतसम्म) रहेको देखाएका छन्।

यस अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा, विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरू, गत वर्षको एच.पि.भी. खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई मुख्यतया विद्यालय केन्द्रित खोप केन्द्रमार्फत एच.पि.भी. खोप प्रदान गरिँदैछ।

नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा अन्त्य गर्ने लक्ष्यसहित सन् २०३० सम्मका लागि तीनवटा प्रमुख स्वास्थ्य लक्ष्य निर्धारण गरेको छः

१) १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप प्रदान गर्ने।

२) ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण (स्क्रिनिङ) गर्ने।

३) पाठेघरको मुखको क्यान्सर पहिचान भएका महिलाहरूको समयमै उपचार सुनिश्चित गर्ने।

यद्यपि एच.पि.भी. खोप अभियान देशभर एकैसाथ सञ्चालन हुने भए पनि स्थानीय तहअनुसार मिति र समय फरक हुन सक्ने भएकाले आ–आफ्नो टोल तथा वडाका विद्यालयमा खोप कहिले सञ्चालन हुन्छ भन्ने जानकारी स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय नर्स, शिक्षक, जनप्रतिनिधि तथा अन्य सरोकारवालामार्फत लिएर अभियानमा सहभागी हुन अनुरोध गरिन्छ। कोही पनि अभियानबाट छुट्न नपरोस् भन्ने हाम्रो साझा उद्देश्य हो।

यो खोप एक मात्रा लगाए पुग्दछ। किशोरीहरू महिनावारी भएको बेला पनि यो खोप लगाउन मिल्छ। यसले महिनावारीको नियमिततामा कुनै असर गर्दैन। खोप लगाउँदा महिनावारी छिटो सुरु हुने वा ढिला हुनेजस्ता भ्रमहरू निराधार हुन्। त्यसैले एच.पि.भी. खोप अभियान सञ्चालन भइरहँदा कुनै पनि बहानामा कोही पनि खोपबाट वञ्चित नहुन सबैलाई आग्रह गरिन्छ।

नेपाल सरकारद्वारा अभियानका रूपमा निःशुल्क वितरण गरिने यस्ता महत्वपूर्ण खोपहरू सफल बनाउन अभिभावक, स्वास्थ्यकर्मी, तीनै तहका जनप्रतिनिधि, सञ्चारकर्मी, प्रशासन तथा सम्पूर्ण सरोकारवालाहरूको सहकार्य अपरिहार्य छ। सबैको सक्रिय सहभागिताबाट मात्र राज्यको यो महत्वपूर्ण अभियान सार्थक बन्न सक्छ।

त्यसैले, सबैले मिलेर एच.पि.भी. खोप अभियान सफल पारौं र आफ्ना बालिकाहरूलाई घातक रोगबाट सुरक्षित गरौं। (भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :