नेपालमा बढ्यो निपाह भाइरसको जोखिम : सीमा नाका र विमानस्थलमा उच्च सतर्कता

स्वास्थ्यसमाचार/ छिमेकी मुलुक भारतको पश्चिम बंगाल राज्यमा घातक निपाह भाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि नेपाल सरकारले सतर्कता बढाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भारतसँग जोडिएका स्थलसीमामा यात्रुहरूको स्वास्थ्य जाँच कडा पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हवाई तथा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूको निगरानी तीव्र बनाइएको छ। सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कहरूलाई पूर्ण रूपमा सक्रिय गर्दै ज्वरो, टाउको दुःखाइ, श्वासप्रश्वासमा समस्या, बान्ता तथा बेहोस हुनेजस्ता लक्षण देखिएका यात्रुको तत्काल पहिचान गरी आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ।

यस महिनाको सुरुआतमा पश्चिम बंगालमा पाँच जना स्वास्थ्यकर्मी निपाह भाइरसबाट संक्रमित भएको पुष्टि भएको थियो। संक्रमितसँग सम्पर्कमा आएका करिब ११० जनालाई क्वारेन्टिनमा राखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म नेपालमा निपाह भाइरस पुष्टि नभएको जानकारी दिँदै सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी र पूर्वतयारी उच्च प्राथमिकतामा राखिएको बताए। शंकास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने र आवश्यक परे तोकिएका अस्पतालमा उपचारको व्यवस्था गरिएको उनले बताए।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस अत्यन्त संक्रामक र घातक हुनसक्ने भएकाले नेपालमा पनि सूक्ष्म अध्ययन र तयारी आवश्यक छ। विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरसको मृत्युदर ४० देखि ७० प्रतिशतसम्म हुनसक्छ।

सरकारले आम नागरिकलाई अनावश्यक डर नमान्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन र कुनै पनि शंकास्पद लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :