मेडिकल व्यवसायी चुन्नु पौडेलले पाए कांग्रेसबाट रुपन्देही २ मा टिकट

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट मेडिकल ब्यबसायी चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।बुटवलमा सामाजिक व्यक्तित्वको रुपमा परिचित पौडेललाई कांग्रेसले आज उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बुटवलमा, स्वास्थ्य उद्योग र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका पौडेललाई कांग्रेसले स्थानीय लोकप्रियता, सामाजिक योगदान र संगठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै उम्मेदवार बनाएको पार्टी स्रोतले जनाएको छ ।

कांग्रेस नेतृत्वले विकास, रोजगारी र सेवा क्षेत्रमा अनुभवी व्यक्तिलाई अघि सारेर मतदाताको विश्वास जित्ने रणनीति अनुसार पौडेललाई उम्मेदवार बनाएको बताइएको छ ।पौडेल यशोधा फुड्सको अध्यक्ष हुन् भने बुटवल अस्पतालको अध्यक्ष पनि हुन् ।

उनले उद्योग व्यवसायसँगै स्वास्थ्य सेवाको विस्तार र सामाजिक उत्तरदायित्वका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । बुटवल र आसपासका क्षेत्रमा उनको सामाजिक सक्रियता र सहयोगी स्वभावका कारण उनी एक परिचित तथा सम्मानित व्यक्तित्वका रूपमा चिनिन्छन् ।
कांग्रेसले पौडेलको उम्मेदवारीले रुपन्देही–२ मा पार्टीलाई बलियो बनाउने विश्वास लिएको छ । उम्मेदवारी टुंगिएसँगै कांग्रेसले निर्वाचन अभियानलाई तीव्र बनाउँदै संगठनलाई एकढिक्का बनाएर चुनावी प्रतिस्पर्धामा होमिने तयारी थालेको जनाएको छ ।

यस क्षेत्रमा नेकपा एमालेबाट विष्णु पौडेल, नेकपाबाट सुवास पाण्डे (विश्वदीप), रास्वपाबाट इन्जिनियर आशिष सुवेदी, प्रलोपाबाट नारायण नगिलाले टिकट पाएका छन् ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :