रुपन्देहीमा प्रेरणा परियोजनाको जिल्ला स्तरीय अनुगमन

स्वास्थ्यसमाचार/ प्रेरणा परियोजनाको जिल्ला स्तरीय अनुगमन सम्पन्न भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रहेको एनटीडी (Neglected Tropical Diseases) युनिट तथा सियारी गाउँपालिकामा हात्तिपाइले, कुष्ठरोग प्रभावित र अति विपन्न समुदायलाई लक्षित गरी गठन गरिएका स्व–हेरचाह समूहमार्फत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको अनुगमन गरिएको हो।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाई, स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापा, इन्द्रेणी ग्रामीण विकास केन्द्रकी उपाध्यक्ष चेतना थापा, सल्लाहकार बिष्णु गौतम, स्वास्थ्यसमाचार अनलाइनका सम्पादक  चन्द्रकान्त खनाल, प्रेरणा परियोजनाका टिम लिडर राजेन्द्र रुचाल, जिल्ला परियोजना संयोजक किरण श्रेष्ठ, टेक्निकल अधिकृत अपार शर्मा लगायतको टोली सहभागी थियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा एनटीडी युनिट प्रमुख मञ्जु पन्थीले सञ्चालनमा रहेका कार्यक्रम, बिरामीको अवस्था तथा सेवाप्रवाहबारे जानकारी गराउनु भएको थियो। त्यसैगरी सियारी गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख बुद्धि घर्तिले प्रेरणा परियोजनामार्फत भएका गतिविधि र उपलब्धिबारे अनुगमन टोलीलाई जानकारी गराएका थिए।

सियारी गाउँपालिकामा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको प्रेरणा परियोजनाका कार्यक्रमबारे गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा चौधरी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेलाई समेत जानकारी गराइएको थियो।

सो अवसरमा गाउँपालिका अध्यक्ष घिमिरेले स्वास्थ्य क्षेत्रमा प्रेरणा परियोजनाले राम्रो काम गरेको भन्दै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिइने बताए। उनले बाहिरबाट आउने सबै संस्थाहरूले पालिकाको हितअनुसार काम नगरेको अवस्थामा अनुमति नदिने नीति रहेको स्पष्ट पारे। त्यस्तै उपाध्यक्ष तारा चौधरीले स्वास्थ्य क्षेत्र सुधारका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताइन्।

अनुगमनपछि आफ्ना धारणा राख्दै जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईले प्रेरणा परियोजनामार्फत हात्तिपाइले, कुष्ठरोग प्रभावित तथा अति विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी देखिएको बताए। उनले स्व–हेरचाह समूहले सेवाग्राहीको आत्मनिर्भरता र रोग व्यवस्थापनमा सकारात्मक भूमिका खेलेको उल्लेख गरे।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :