स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकामा हात्तिपाइले, कुष्ठरोग प्रभावित तथा अति विपन्न समुदायलाई लक्षित गरी गठन गरिएको स्वयम्–हेरचाह समूहले आत्मनिर्भरतातर्फ उल्लेखनीय काम गरिरहेको छ।
प्रेरणा परियोजना र सियारी गाउँपालिकाको सहकार्यमा करिब तीन वर्षअघि सुरु गरिएको यस समूहका पदाधिकारी तथा सदस्यहरू पशुपालन र मत्स्यपालनमार्फत जीविकोपार्जनमा आत्मनिर्भर बन्दै गएका छन्।स्वयम्–हेरचाह कृषि समूहअन्तर्गत महिलाहरूले माछापालन, कुखुरा, हाँस, बाख्रा तथा भैँसीपालन गर्दै आम्दानीको स्रोत विकास गरेका छन्।
परियोजनाले बीउ पूँजीस्वरूप ७० हजार रुपैयाँ र गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग गरी जम्मा १ लाख ७० हजार रुपैयाँको कोष स्थापना गरिएको थियो। सो कोषबाट समूहका सदस्य महिलाहरूलाई आवश्यकताअनुसार रकम उपलब्ध गराई आत्मनिर्भरतातर्फ अघि बढाइएको छ।
समूहमा ३ जना हात्तिपाइले प्रभावित, १ जना कुष्ठरोग प्रभावित र ११ जना अति विपन्न गरी कुल १५ जना सदस्य आबद्ध छन्। समूहका अध्यक्ष फुला मल्लाहका अनुसार सदस्यहरूले ५ हजारदेखि २० हजार रुपैयाँसम्म बिना ब्याज ऋण लिने व्यवस्था छ।
अध्यक्ष मल्लाहले आफू पनि हात्तिपाइले रोगबाट प्रभावित रहेको बताउँदै यसै समूहको सहयोगमा भैँसी खरिद गरेको र हाल त्यसबाट पाँच वटा पाडी जन्मिएको जानकारी दिइन्। “भैँसीपालनबाट घरखर्च चलाउन सहज भएको छ, छोरोलाई वैदेशिक रोजगारीमा पठाउनसमेत सहयोग पुगेको छ,” उनले भनिन्।
समूहका अन्य सदस्यहरू पनि विभिन्न व्यवसायमा संलग्न छन्। विष्णुमाया थारु हाँस पालन, गीता थारु बाख्रा पालन, शोभा देवी मल्लाह माछा पालन तथा पुष्पा थारु कुखुरा तथा बाख्रा पालनमार्फत आम्दानी गर्दै आएका छन्। उनीहरूले स्वयम्–हेरचाह समूहले जीवनस्तर सुधारमा ठोस योगदान पु¥याएको बताएका छन्।
प्रेरणा परियोजनाका जिल्ला परियोजना संयोजक किरण श्रेष्ठले जीवन निर्वाहमा सहजता ल्याउने र समुदायमा सचेतना फैलाउने उद्देश्यका साथ स्वयम्–हेरचाह समूह गठन गरिएको बताए। “स्वास्थ्य समस्या भोगिरहेका तथा आर्थिक रूपमा कमजोर समुदायलाई आत्मनिर्भर बनाउने हाम्रो मुख्य लक्ष्य हो,” उनले भने।
सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि घर्तीले हात्तिपाइले र कुष्ठरोग प्रभावित तथा अति विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरिएका स्वयम्–हेरचाह समूहले स्वास्थ्य सेवा पहुँच र आत्मनिर्भरता दुवैमा सकारात्मक परिणाम देखाएको वताए। इन्द्रेणी ग्रामीण विकास केन्द्रका उपाध्यक्ष चेतना थापाले समुदाय स्वयं सक्रिय भएपछि कार्यक्रम दिगो बन्दै गएको र महिला सशक्तीकरण र स्वास्थ्य सचेतनामा समेत सकारात्मक परिवर्तन ल्याएको वताईन ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले रोग व्यवस्थापनसँगै आत्मनिर्भरता र सामाजिक समावेशीकरणमा सकारात्मक प्रभाव पारेको वताईन उनले यस्ता कार्यक्रमलाई संस्थागत गर्दै निरन्तरता दिनु आवश्यक वताईन ।
सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले गाउँपालिकामा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको प्रेरणा परियोजनाले हात्तिपाइले, कुष्ठरोग प्रभावित तथा अति विपन्न समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान गरेको बताए ।
स्वयम्–हेरचाह समूहमार्फत आत्मनिर्भरता बढाउने काम प्रशंसनीय रहेको बताउदै गाउँपालिकाले यस्ता प्रभावकारी कार्यक्रमसँग सहकार्यलाई निरन्तरता दिने बताए ।
जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईले प्रेरणा परियोजनामार्फत हात्तिपाइले, कुष्ठरोग प्रभावित तथा अति विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी देखिएको बताए। उनले स्वयम्–हेरचाह समूहले सेवाग्राहीको आत्मनिर्भरता र रोग व्यवस्थापनमा सकारात्मक भूमिका खेलेको उल्लेख गरे।





प्रतिकया दिनुहोस्