स्वास्थ्यसमाचार/ आर्थिक अभावले उपचार खर्च तिर्न नसक्दा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा एक शिशु अलपत्र परेकी छन् । छ महिनाको समय अवधिमा मात्रै जन्मिएकी शिशुको आम्दामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण अहिले उनलाई गर्नुपर्ने औषधि उपचारमा गाह्रो भइरहेको परिवारले जनाएको छ। अस्पतालले उपचार खर्च जोडिरहने तर, उपचार खर्च आफूसित नहुदा अब उपचार कसरी गर्ने भन्ने समस्या भएको आमा मीनादेवी कंडेलले बताइन् ।
गुल्मीको दरबार गाउपालिका बाख्रे घर भै बुटवलको कालिकानगर बस्दै आएकी मीनाले गर्भ रहेको ६ महिनामै शिशु जन्माएकी थिइन् । बेथा लागेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आएकी मीनालाई अस्पतालले ठाउ नभएको भन्दै आम्दा पठाएको थियो । आम्दामा सुत्केरी हुँदादेखि कम उमेरको शिशुको उपचारमा दैनिक २५ हजार रुपैयाभन्दा धेरै खर्च लागेको आमा मीनाको गुनासो छ ।
आफूसित भएको रकम सकिएपछि आमा मीना अहिले पिरलोमा छिन् । अस्पताललाई उपचार खर्च घटाउन पटक पटक अनुरोध गरेपनि नमानेपछि उनले मनकारीहरुसंग सहयोगको याचना गरेकी छन् ।
शिशुका बाबा वैदेशिक रोजगारीका क्रममा भिजिट भिसामा दुबइ पुगेका छन्। दुवइ पुगेपछि पनि काम भने गर्न पाएका छैनन्। त्यसैले परिवारले अहिले अस्पतालमा शिशुको खर्च धान्न नसक्ने भएको हो । सहयोग गर्न चाहनेले आमा मीना कंडेलको मोवाइल नम्बर ९८६०२६४१२० मा इसेवा गर्न तथा बाबुराम कंडेलको ग्लोबल आइएमी बैंकको खाता नं.०१७०७०१०००९४२० मा सहयोग गर्न सकिने परिवारजनले जनाएको छ ।
यता आम्दा अस्पताल प्रशासनले भने शिशुको अवस्था जटिल रहेको जनाएको छ। भेन्टिलेटरमा राखेर उपचार गराइरहेको शिशुको अवस्था सुधार हुँदै गएमा मात्र केही छुट दिन सक्ने तर तत्काल केही नहुने बताएको छ।आम्दा अस्पतालका प्रमुख डा बिनोद पराजुलीले अस्पतालले सबै निशुल्क गराउन नसक्ने र सक्दो सहयोग गर्ने बताए ।
नेपाल सरकारले मातृशिशु मृत्यु रोक्न निशुल्क प्रसुति सेवा संचालन गरेको छ । नवजात शिशुको उपचारमा समेत निकै सहुलियत प्रदान गरेको छ । तर, आम्दा नेपाल, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ लगायतले सेवाभावबाट चलाएको आम्दा अस्पतालमा भने मातृशिशु उपचार निकै महंगो छ ।
यसले गर्दा उपचार सेवा लिन गएका विपन्न परिवारले बेलाबेलामा आर्थिक समस्या भोग्ने गरेका छन् ।
प्रतिकया दिनुहोस्