स्वास्थ्यसमाचार/भैरहवामा बुधबारदेखि स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारीका लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ ।
बिहीबारसम्म सञ्चालन हुने गोष्ठीको एक कार्यक्रमकाबीच बोर्डका स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले स्वास्थ्य बीमा बोर्डलाई सुधारको पक्षमा ल्याउनुपर्ने अभिभारा रहेको बताउनुभयो ।
उहाँले बोर्डलाई एक नम्बरको स्वास्थ्य पद्दतिको कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवा गुणस्तरीय बनाउनेमा बोर्ड सचेत छ, आमूल परिवर्तन गर्ने गरी अघि बढेका छौं, उहाँले भन्नुभयो । सेवा प्रदायक स्वास्थ्य संस्थाका गुनासो सुन्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष क्षेत्रीले स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्रमा अपरिहार्य रहेको धारणा राख्नुभयो ।
त्यस्तै बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले यस्ता किसिमका गोष्ठीले दर्ता अधिकारीको कार्यक्षमता वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले २०७२ सालमा स्वास्थ्य बीमा कार्यक्रम पाईलट प्रोजेक्टको रुपमा सुरु भएको बताउनुभयो । सदस्य डा. श्रेष्ठले स्वास्थ्य बीमाबाट नागरिकले फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउनु स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । उहाँले बीमा कार्यक्रममा नेपालका करिब ६५ लाख नागरिक आबद्ध रहेको जानकारी दिनुभयो । ‘दैनिक ५० हजार नागरिकले यो कार्यक्रमबाट सेवा लिइरहेका छन्, स्वास्थ्य बीमामार्फत सेवा लिनेको संख्या बढेको छ, ’उहाँले भन्नुभयो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले स्वास्थ्य बीमा कार्यक्रमका सकारात्मक पक्षहरुको बारेमा बहस गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय लुम्बिनीका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक एवं प्रवक्ता नोद नारायण चौधरीले सर्भरको समस्या छ भनेर भन्नुभन्दा समाधानतर्फ जानुपर्ने बताउनुभयो । उहाँले बीमा गरिसकेपछि सहज रुपमा सेवा पाइन्छ भन्ने नागरिकलाई अनुभुति दिलाउनुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले सेवा प्रदायक संस्थाका विभिन्न जटिलता रहेको बताउनुभयो ।
भीम अस्पताल भैरहवाका मेडिकल सुपरीटेण्डेण्ट डा.शकुन्तला गुप्ताले स्वास्थ्य बीमाले धेरै सहयोग गरे पनि यसका चुनौतीहरु रहेको बताउनुभयो ।
स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश संयोजक सिर्जना पौडेलले लुम्बिनी प्रदेशमा स्वास्थ्य बीमाको अवस्थाबारे प्रस्तुतीकरण गर्दै हालसम्म यो प्रदेशमा १३ लाख ४७ हजार ९ सय २८ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको जानकारी दिनुभयो ।
उहाँले क्रियाशील बीमितको संख्या ७ लाख ८० हजार ८ सय ९५ अर्थात २६.३१ प्रतिशत रहेको बताउनुभयो । प्रदेशमा रहेका १०९ वटा स्थानीय तहमध्ये ५३ स्थानीय तहमा ६५ सेवा प्रदायक संस्थाहरु रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवाका वित्त नियन्त्रक सिए सुरज पौडेल, श्री रण अम्बिका शाह आँखा अस्पतालका व्यवस्थापक प्रकाश रायमाझी, स्वास्थ्य बीमा बोर्डका कपिलवस्तु जिल्ला संयोजक वशिष्ट तिवारी, रुपन्देही संयोजक राजु चौधरी, जर्मन प्राविधिक सहयोग संस्था (जीआईजेड)का प्रतिनिधि लगायतले बोल्नुभएको थियो ।कार्यक्रम जीआईजेडको सहयोगमा सञ्चालन भएको हो ।
प्रतिकया दिनुहोस्