स्वास्थ्यसमाचार/ निजी अस्पताल र नर्सिङ शिक्षण संस्थामा कार्यरत नर्सहरूले सरकारी स्तरको पारिश्रमिक र सेवा–सुविधा माग्दै बुधबार दुई घण्टा सेवा बन्द गरेर आन्दोलन गरेका छन्। नेपाल नर्सिङ संघको नेतृत्वमा सुरु गरिएको उक्त आन्दोलनमा देशभरका नर्सहरू सहभागी भएका छन्।
संघको आह्वानमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा रोकिएका थिए। यस अवधिमा नर्सहरूले आफ्ना कार्यस्थलको प्रांगणमै भेला भएर नाराबाजीसहित प्रदर्शन गरेका थिए।
नर्सहरूले सरकारलाई बुझाइएको १५ बुँदे मागपत्रमा नर्सिङ पेशाको सम्मान र सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ। उनीहरूको प्रमुख मागमा सरकारी सरह तलब–भत्ता, जोखिम भत्ता, अतिरिक्त सेवा वापत छुट्टै पारिश्रमिक, दरबन्दी तथा बढुवाको स्पष्ट व्यवस्था, र निजी तथा सामुदायिक विद्यालयमा नर्स पद सृजना जस्ता बुँदाहरू समावेश छन्।
यस्तै, नर्सहरूले दक्ष नर्सिङ जनशक्तिलाई श्रमिकको रूपमा होइन, स्वास्थ्य ऐन अन्तर्गत दक्ष स्वास्थ्य पेशेवरको रूपमा परिचालन गर्नुपर्ने माग पनि गरेका छन्। साथै, कार्यस्थलमा हुने दुर्घटना वा जोखिमका बेला उचित क्षतिपूर्ति सुनिश्चित गर्न, नीति निर्माणमा समान सहभागिता दिलाउन र स्थायी विज्ञापनमार्फत पदपूर्तिको व्यवस्था गर्न पनि उनीहरूले जोड दिएका छन्।
उता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सहरूको आन्दोलनप्रति ध्यानाकर्षण जनाउँदै नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरहभन्दा कम पारिश्रमिक नदिन सम्बन्धित संस्थालाई आग्रह गरेको छ। तर नर्सहरूले भने अघिल्ला पटक पनि यस्ता आग्रह मात्र भएको तर कार्यान्वयन नभएकाले यसपटक माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

प्रतिकया दिनुहोस्