स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयको मातहतमा सञ्चालित चार वटा नागरिक आरोग्य सेवा केन्द्रहरू यस आर्थिक वर्ष २०८२/८३ देखि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।
सैनामैना नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका र सियारी गाउँपालिकामा रहेका ती सेवा केन्द्रहरू अब ती-ती स्थानीय तहकै व्यवस्थापनमा सञ्चालन हुनेछन्।
नागरिक आरोग्य सेवा केन्द्रहरूलाई समुदायमै पहुँचयुक्त, वैकल्पिक तथा आयुर्वेदिक स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको हो। हस्तान्तरणपछि स्थानीय तहहरूलाई सेवा केन्द्रको पूर्वाधार, जनशक्ति तथा सञ्चालन खर्चको व्यवस्थापन जिम्मा दिइनेछ।
हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. दीपक आचार्यले नागरिक आरोग्य सेवा केन्द्रहरूलाई अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सकिने विश्वास व्यक्त गर्नु भयो।उहाले भन्नु भयो, “स्थानीय तहको सक्रिय सहभागिताले समुदायस्तरमै आयुर्वेद सेवा सुलभ हुनेछ। यो हस्तान्तरण प्रदेश सरकारको सहरी स्वास्थ्य सुदृढीकरणमा टेवा पुर्याउनेछ।”
त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले हस्तान्तरणप्रति धन्यवाद व्यक्त गर्दै भन्नु भयो , “अब नगरपालिकाले केन्द्रको सेवा विस्तार, जनशक्ति व्यवस्थापन तथा स्रोत परिचालनमा आफूलाई समर्पित गर्नेछ। यो प्रक्रिया जनस्वास्थ्यलाई नजिक लैजाने महत्वपूर्ण कदम भएको बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार जनस्वास्थ्य सेवा नजिकबाट र सुलभ रूपमा उपलब्ध गराउने रणनीतिमा आधारित यो कदमलाई स्थानीय तहले स्वागत गरेका छन्।
प्रतिकया दिनुहोस्