स्वास्थ्यसमाचार/लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा बुटवलमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण शिविर सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयमा आयोजित शिविरमा १५० जना महिलाले स्वास्थ्य परीक्षण गराए ।सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सामाजिक क्षेत्रमा लायन्स क्लबले सञ्चालन गरेका गतिविधिहरुले सकारात्मक प्रभाव पार्न सफल भएको उल्लेख गरे ।
उनले बुटवल उपमहानगरले यहाँका विभिन्न सामाजिक संघ–संस्थाहरुसँग सहकार्य गरी शिक्षा, स्वास्थ्य तथा सामाजिक तथा मानवीय बिकासका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए।
बुटवललाई आर्थिक केन्द्रको रुपमा बिकास गर्दै यहाँको मानवीय बिकासका लागि रोजगार प्रवद्र्धन तथा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिम लगायतका गतिविधिहरु सञ्चालन भइरहेको उनलेबताए ।
कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ग्याट टीम लिडर खिमबहादुर हमालले थप रचनात्मक कार्यका लागि क्लबलाई आग्रह गरे ।परिवार नियोजन संघ बुटवलको प्राविधिक सहयोगमा आयोजित शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा सतिश रुपाखेतीले स्वास्थ्य परीक्षण गरे भने परिवार नियोजन संघका स्वास्थ्यकर्मीहरु पदमा श्रेष्ठ र शुष्मा श्रेष्ठले सहजीकरण गरे।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, उक्त क्लबका तर्फबाट कार्यक्रम संयोजक उपेन्द्रमान श्रेष्ठ, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीका अध्यक्ष सिता श्रेष्ठ तथा उक्त क्लबका तर्फबाट कार्यक्रम संयोजक ताता श्रेष्ठ लगायतले बोल्दै पछिल्लो समयमा महिलाहरुमा गम्भिर समस्याका रुपमा देखिएको पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्यालाई न्यूनीकरणका लागि शिविर आयोजना गरिएको बताए।
क्यान्सर हुनुभन्दा पहिले नै लक्षणहरु भेटिएमा उपचार सम्भव हुने भएकाले सचेतनाका लागि कार्यक्रमको आयोजना गरिएको उनीहरुको भनाइ छ ।लायन्स क्लब अफ बुटवल तिलोत्तमाका सचिव काशीराज ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । शिविर सञ्चालनका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर २ ले सहकार्य गरेको थियो ।
प्रतिकया दिनुहोस्