स्वास्थ्यसमाचार / बुटवलमा क्षयरोग (टीबी) नियन्त्रण अभियानअन्तर्गत स्क्रिनिङ कार्यक्रममा महिलाहरूको सहभागिता उल्लेखनीय देखिएको छ। तर, लक्षण लुकाउने, नियमित औषधी नखाने र समाजको डरले उपचारबाट टाढिन खोज्ने प्रवृत्तिका कारण रोग नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
बुटवल–११ की नाम परिवर्तन गरिएको गीता भण्डारी सुकुम्बासी टोलमा बस्छिन्। सामान्य गृहिणी गीता २ छोराछोरीकी आमा हुन्। बिहानै उठेर घरधन्दा सबै सम्हाल्ने उनको दैनिकी थियो। केही महिना अघि उनी एक्कासि ज्वरोले थलिएपछि शरीर कमजोर हुँदै गयो, खानामा मन लागेन, रातभर खोकीले सुत्नै सकिनन्। सुरुमा उनले ‘साधारण रुघा(खोकी हो’ भनेर बेवास्ता गरिन्। समाजको डरले बिरामी भएको कुरा कसैलाई भनिनन्।
जब बान्ता आउन थाल्यो, राति पसिना चुहिन थाल्यो र तौल घट्न लाग्यो, उनका श्रीमान राम बहादुरले उनलाई नजिकैको स्वास्थ्य चौकी र्पुयाए। स्वास्थ्यकर्मीले तुरुन्तै क्षयरोग (टीबी को शंका गरे र सम्पूर्ण परीक्षणका लागि रेफर गरे। रिपोर्टले पुष्टि र्गयो—गीतालाई क्षयरोग भएको रहेछ।
गीता एकछिन मौन भइन, “अब म समाजको नजरमा रोगी भएँ,” उनको अनुहार मलिन भयो। तर स्वास्थ्यकर्मी थानेश्वर खनालले भने, “यो रोग लाजको होइन, उपचारको हो। टीबी ठीक हुन्छ, औषधी नछोडी खाएपछि तपाईंको जीवन फेरि सामान्य बन्छ।”
थानेश्वर र स्वयंसेविकाको निरन्तर समझदारीपछि गीता ६ महिनाको नियमित औषधी सेवनमा लागिन्। सुरुमा उनी थाक्थिन्, बान्ता हुन्थ्यो, तर उनले हिम्मत हारिनन्। औषधी सिधा निगरानी अन्तर्गत खाइन्। स्वास्थ्यकर्मीहरूले उनका छोराछोरीको पनि परीक्षण गरे, तर कसैमा संक्रमण देखिएन।
अहिले ६ महिना पूरा भइसकेको छ। गीता भन्छिन, “यो लुकाउने होइन, मैले औषधी खाएर निको भएँ। म जस्तै अरू आमाहरू लाजले रोग लुकाउँछन्। अब म उनीहरूलाई लाज हटाएर परीक्षण गर्न र क्षयरोग भए नियमित औषधी खान प्रेरित गर्छु।”गीता त एउटा उदाहरण मात्रै हुन्। यस्ता समस्या भोग्ने अन्य थुप्रै छन्। यही अवस्थालाई ध्यानमा राख्दै बुटवल उपमहानगरपालिकाले क्षयरोग नियन्त्रणका लागि खोज तथा स्क्रिनिङ अभियान सञ्चालन गरेको हो।
हालै सम्पन्न स्क्रिनिङ कार्यक्रममा २२१ जना महिला र १५० जना पुरुष सहभागी भएका थिए। हाल बुटवलमा ३६२ जना क्षयरोगी रहेका छन्। तीमध्ये ०–४ वर्ष उमेर समूहका ७ जना, ५–१५ वर्षका ९ जना र ६५ वर्षभन्दा माथिका ८२ जना रहेका छन्। गत वर्ष स्क्रिनिङमा ४४३ जना क्षयरोगी फेला परेका थिए।
तर, अझै पनि क्षयरोग नियन्त्रणमा चुनौती कायमै छ। धेरै बिरामी औषधी सुरु गरेपछि बीचमै छाड्ने गरेका छन्। नियमित औषधी नखाने, लक्षण लुकाउने, खुल्न नसक्ने जस्ता कारणले रोग फैलने सम्भावना उच्च भएको जनस्वास्थ्य निरीक्षक मिन खनाल बताउँछन्।
बुटवल उपमहानगरपालिकाले घरदैलो खोज अभियान र क्याम स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिरहेको छ। यस वर्ष वडा नं २, ५, ६, ११, १२, १४, १७ र १९ मा स्क्रिनिङ गरिएको छ। स्क्रिनिङमा कृत्रिम बौद्धिक प्रणाली (एआई) प्रविधिबाट एक्स–रे गरिएको थियो, जसबाट ६ जना क्षयरोगी फेला परेका थिए।
उपचारमा फर्किएकाहरूलाई नगरपालिकाले मासिक रु ५०० यातायात खर्चका रूपमा ६ महिनासम्म सहायता दिइरहेको छ। हाल यस्ता ६ जना बिरामी छन्। साथै, २४ जना गरिब तथा विपन्न बिरामीलाई पोषण सामग्रीसमेत उपलब्ध गराइएको स्वास्थ्य शाखाले जनाएको छ।
बुटवलका १९ वटा वडामध्ये सबैभन्दा धेरै क्षयरोगी वडा नं ११ मा भेटिएका छन, जहाँ १३१ जना टीबी बिरामी रहेको जनस्वास्थ्य निरीक्षक खनालले बताए।
स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे भन्छन, “बुटवल उपमहानगरपालिकामा क्षयरोग बिरामी उपचार डट्स सेन्टर १३ वटा सम्पूर्ण स्वास्थ्य संस्था र लुम्बिनी प्रादेशिक अस्पतालमा समेत व्यवस्था गरिएको छ ।
जटिल खालको विरामीको डीआर सेन्टर भने लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै गरिएको छ । निदानात्मक सेवा अन्र्तगत माइक्रोस्कोपिक सेन्टर– बुटवल उपमहानगरपालिका अन्तर्गत ८ स्थानमा, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको छ । जिन एक्सपर्ट सेन्टर लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको पाण्डेले बताए।
उनले तीन हप्ताभन्दा बढी खोकी लाग्नु, बेलुकाको ज्वरो, रातभर पसिना आउने, तौल घट्दै जानु, थकान, छाती दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गरे।
“हामीले एक घरबाट एकजनाको उद्धार गरेर उपचार गर्यौं र निको पनि बनायौं,” पाण्डेले थपे, “६ महिनाको नियमित औषधी सेवनले क्षयरोग पूर्ण रूपमा निको हुन्छ। उपचार निःशुल्क पाइन्छ।”
नगरप्रमुख खेलराज पाण्डेले भने, “सरकारको सन २०५० सम्म क्षयरोग शून्य बनाउने लक्ष्यअनुसार स्क्रिनिङ, पोषण, जनशक्ति, बजेट व्यवस्थापन र निःशुल्क उपचार हाम्रो प्राथमिकता हो। क्षयरोग लाजको होइन, समयमै परीक्षण र उपचारले सजिलै निको हुने रोग हो भन्ने सन्देश हामी सबैमा पुर्याउन जरुरी रहेको बताए ।”
प्रतिकया दिनुहोस्