लुम्बिनीका १४ अस्पताल विकास समितिमा एमाले -कांग्रेसको भागबन्डा

राप्ती प्रादेशिकमा कांग्रेसबाट लामिछाने र लुम्बिनीमा एमालेबाट श्रेष्ठ अध्यक्षमा नियुक्त

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल विकास समितिमा सत्तारुढ एमाले र  कांग्रेसले भागबण्डा गरेर अध्यक्ष नियुक्त गरेका छन् ।

विगतमा मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गरी निर्णय सार्वजनिक गर्ने गरिएकामा यसपटक भने मन्त्रीस्तरीय निर्णयबाटै अध्यक्ष नियुक्त गरिएको  छ । हाल नेकपा एमालेका खेम सारु स्वास्थ्य मन्त्री छन् ।

यद्यपि एमाले र कांग्रेसका प्रभावशाली मन्त्रीहरुको समन्वयमा स्वास्थ्यमन्त्री सारुले कार्यकर्ताहरुलाई नियुक्ति दिएको स्रोतले बतायो ।

स्वास्थ्य मन्त्रालयले यो निर्णय सार्वजनिक भने गरिसकेको छैन । प्रदेश सरकारका एक मन्त्रीले अस्पताल विकास समिति सदस्यहरु समेत नियुक्त गरिसकेपछि एकैपटक निर्णय सार्वजनिक हुने बताए ।

को कहाँ नियुक्त ?

स्रोतका अनुसार दाङकै राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा भने नेपाली कांग्रेसबाट महेन्द्रराज लामिछाने नियुक्त भएका छन् ।

यसैगरी प्युठान जिल्ला अस्पतालको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद बसेल, रोल्पा जिल्ला अस्पतालमा कांग्रेसबाट शेरबहादुर थापा, भीम अस्पताल भैरहवामा कांग्रेसबाट कुलप्रसाद न्यौपाने, पाल्पा अस्पतालमा कांग्रेसबाट अजय कर्माचार्य, रुकुम पूर्व अस्पतालमा कांग्रेसबाट लोकेन्द्र शाह नियुक्त भएका प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अध्यक्षमा एमालेबाट अजय मान श्रेष्ठ नियुक्त भएका छन् । यसैगरी गुल्मी जिल्ला अस्पतालमा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, रामपुर अस्पताल पाल्पामा एमालेबाट युवराज खनाल र अर्घाखाँची जिल्ला अस्पतालमा एमालेबाट बलाराम मिश्र अध्यक्ष नियुक्त भएका हुन् ।

त्यस्तै कपिलवस्तु जिल्ला अस्पतालमा एमालेबाट रन्जिकुमार बर्मा, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेबाट जगदीश चौधरी र भालुबाङ अस्पताल दाङमा एमालेबाट सूर्य प्रकाश शर्मालाई नियुक्त गरिएको छ ।

रुपन्देही र दाङमा रहेका दुई आयुर्वेदिक अस्पतालका अध्यक्ष भने नियुक्त गर्न बाँकी छ । विगतमा मन्त्रिपरिषदबाट निर्णय हुने गरेको तर मन्त्रिस्तरीय निर्णयबाट पनि अध्यक्ष नियुक्त गर्न मिल्ने व्यवस्था रहेको प्रदेशकै एक पूर्व स्वास्थ्यमन्त्रीले जानकारी दिए ।

सम्बन्धित शिर्षक :