हात्तीपाइले निवारण अभियानमा म्याद गुज्रिएको औषधी फेला

स्वास्थ्यमाचार/ वाकेमा हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधी नै म्याद गुज्रेको भेटिएको छ।बाकेको डुँडुवा गाउँपालिकाको वार्ड नम्बर २ बाढी गाउँमा खुवाइएको औषधी तीन महिनाअघि नै म्याद सकिएको भेटिएको हो।

स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधी बिरामीलाई खुवाएको भन्दै प्रदेश सभाको बैठकमा सांसदले आपत्ती जनाएका छन्। बाँकेका सांसद विजयबहादुर यादवले कर्मचारीले नै सर्वसाधारणको स्वास्थ्य जोखिम हुने गरी औषधी खुवाएको भन्दै कारबाही गर्न सरकारसँग माग गरे।

‘गाउँपालिकाका स्वास्थ्य इन्चार्ज गैरजिम्मेवार देखिए, सरकारले तत्काल कारवाही गर्नुपर्छ, उनले संसदबाट माग गरे। स्वास्थ्य इन्चार्जले ‘माथिबाट नै यस्तै औषधि पठाएको भन्दै पन्छिएको उनले बताए।हात्तिपाइले निवारणको लागि बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा केही दिनअघि मात्रै औषधि खुवाइएको थियो। ती औषधिमध्ये बाँकेकमा खुवाइएको औषधी म्याद गुज्रिएको भेटिएको हो।

त्यस्तै सांसद सन्तोष पाण्डेले नेपाललाई औषधि प्रयोशगाला बनाइएको भन्दै त्यसलाई रोक्न माग गरे। ‘प्रदेश ५ त्यस्तो प्रयोगशाला नबनो सरकारले ध्यान दिनुपर्छ’, उनले भने।मंगलबारको प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

विशेष समयमा बोल्दै सांसद यादवले महिलाको विवाह गर्ने उमेर १८ वर्ष बनाउन माग गरे। बाँकेसहितका तराईका जिल्लामा वालविवाहका नाममा प्रहरीले छापा मारेर हैरानी दिएको भन्दै उनले कानूनमै उमेर घटाउनुपर्ने बताए।‘नागरिकता १६ वर्षमा दिने, भोट १८ वर्षमा राख्न योग्य भइने, विहेचाही २० वर्ष हुनुपर्ने ? उनले भने,‘यसलाई कानूनबाटै सुधार गर्नुपर्छ। छोरी बचाउनका लागि पनि यो आवश्यक छ।’ उमेर हद २० वर्ष नै कायम राखे झन समस्या निम्तिने उनले बताए।

सम्बन्धित शिर्षक :