स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैनाबाट प्रदेश ५ मा राष्ट्रिय दादुरा रुबेला खोप अभियान सुरू भएको छ । सैनामैनाको पर्रोहा क्याम्पसमा राखिएको खोप केन्द्रमा आएका बाल बालिकालाई खोप दिएर विहिबार प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले विधिवत रुपमा अभियानको शुभारम्भ गरेका छन् ।
सो अबसरमा बोल्दै मूख्यमन्त्री पोखरेलले खोप कार्यक्रमसँग नजोडिएका आमा तथा बालबालिकाहरुमा पुग्न सक्यौ भने मात्रै खोप अभियान सार्थक हुने उल्लेख गरे ।फरक प्रसँगमा मूख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालसँग जोडिएका सटरहरुका कारण अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएका कारण सटरहरु भत्काइएको बताए ।

अस्पताललाई विशेषज्ञ सेवासहित विशिष्टकृत गर्नका लागि सरकारले राष्ट्रय गौरवको रुपमा लिएर स्तरोन्नतिमा अगाडि बढेको बताए । “अस्पताल अगाडीका सटरहरु एक प्रकारले भन्ने हो भने गन्द्रे बजार जस्ता थिए, जसका कारण अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको थियो ।मुख्यमन्त्री पोखरेलले भने, जनताले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य सुविधालाई ती सटरहरुले अबरोध गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्य समितिका रुपन्देहीका संयोजक एकराज बिकले पनि खोप लगाउन सबैमा आग्रह गरे । राष्ट्रिय सभाषका सदस्य खिमलाल भट्राईले यो अभियान सफल बनाउन सबैलाई आग्रह गरे ।
कार्यक्रममा स्वास्थ्य सेवा बिभाग परिवार महाशाखाका जनस्वस्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठ सन् २०१९ सम्म मुलुकमा दादुरा–रुबेला निवारण गर्ने लक्ष्य पूरा नभएपछि सरकारले दातृ निकायको सहयोगमा थप तीनवर्षे अभियान सुरु गरेको बताए ।
२०२३ सम्म हामीले दादुरा रुवेला लाई निबारण गर्ने हो त्यसकारण अहिले यो अभियान अन्तीम भएको श्रेष्ठले बताए । उनले यो महत्वपुर्ण अभियानमा सहभागि भएर बच्चलाई खोपलगाउन आग्रह गरे ।
यसैबिच रुपन्देहीमा ५ वर्ष मूनिका बालबालीकाहरुलाई तीन चरणमा अभियान सञ्चालन गरि दादुरा रुबेला तथा पोलि विरुद्धको खोप दिइने छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आगामी आजदेखि फागुन ९ गतेसम्म पहिलो, फागुन १३ देखि १७ गतेसम्म दोस्रो तथा १६ देखि फागुन २४ गतेसम्म तेस्रो गरी ३ चरणमा खोप अभियान सञ्चालन गरिने भएको हो ।
जिल्लामा रहेका १ लाख ३० हजार ३ सय ९८ बालबालिकालाई पोलियो विरुद्धको खोप दिइने छ भने १ लाख ९ हजार ७ सय ९९ बालबालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप दिइने स्वास्थ्य दिइने छ ।
खोप अभियान सञ्चालनका लागि जिल्लामा ९ सय २ जना स्वास्थ्यकर्मी तथा १ हजार ६ सय २ जना स्वयम्सेवक परिचालित हुने छन् । अभियान सञ्चालनका लागि जिल्लाका १२ स्थानमा एईएफआई टिम, ७९ जना स्थानीय निरिक्षक, १० जना जिल्ला स्तरिय निरिक्षक तथा ३२ जना स्थानीय निकाय स्तरका निरिक्षक रहने छन् ।

 
				
					 
			 
                             
                             
                            
प्रतिकया दिनुहोस्