दादुरा रुबेला खोप अभियानः मेयरद्धारा खोप दिएर शुभारम्भ

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म तिलोत्तमामा खोप अभियान चल्नेछ ।

अभियानको तिलोत्तमा वडा नं. १ स्थित दुर्गामन्दिर खोप केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउने काममा सहयोग पुर्याउन सम्पूर्ण नगरबासीलाई आग्रह गरे ।

उनले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताए ।

साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने छन् । यो खोपसँगै जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई पोलियो थोपा समेत खुवाइने तिलोत्तमा नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले बताए ।


अभियानमा कोही नछुटुन् भन्ने उद्देश्यले खोप लगाएका बालबालिकाको हातमा चिन्ह समेत लगाइनेछ । तिलोत्तमा नगरपालिकामा अभियानको क्रममा ९ हजार ७ सय ६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ । यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइनेछ ।

नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन भएको हो । बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ ।

नेपालमा २१ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पूर्णतः खोपबाट वञ्चित छन् । ‘पूर्ण खोप  सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले यो अभियान सञ्चालन गर्न लागेको हो ।

सम्बन्धित शिर्षक :