काठमाडौँ / सरकारले देशभर यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियान सञ्चालन गर्दै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले लक्षित समूहका किशोरीहरू विद्यालयमै अध्ययन गरिरहेकाले पहिलो चरणमा विद्यालय केन्द्रित गरेर अभियान सञ्चालन गर्ने जनाएको छ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कक्षा ६,७,८,९ र १० का किशोरीहरूलाई उक्त खोप लगाइने छ।
‘यो खोप लगाउने लक्षित वर्ग १० देखि १४ वर्षकाका किशोरीहरू यी कक्षाहरूमा अध्ययन गरेको पाइयो,’आज पाठेघरको मुखको क्यान्सर तथा एचपिभी खोपसम्बन्धी शिक्षा पत्रकार सञ्जाल नेपालइजोनसँगको अभिमूखीकरण कार्यक्रममा उनले भने,‘त्यसैले पहिलो चाहिँ विद्यालयबाट नै यो अभियान चलाउन लागेका हौँ, त्यसपछि विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीहरूलाई पनि खोप लगाउँछौँ,अनि पछिमात्रै स्वास्थ्य सेवा केन्द्रबाट यो खोप लगाइने छ।’
१६ लाखभन्दा बढी किशोरीलाई यो खोप लगाइने
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा।गौतमले देशभरका १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीहरूलाई एचपिभी खोप लगाइने जानकारी दिए। ‘यो संख्या भनेको सरकारी र निजी विद्यालयमा पढ्ने सबै किशोरीहरू हुन्,’उनले भने।
उनका अनुसार सामुदायिक र निजी गरी १९ हजार ८ सय विद्यालयहरूमा विद्यालयलाई खोप केन्द्र तोकेर लगाइने छ। त्यसमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरू खटिने छन्।
के हो एचपिभी, किन लगाउनुपर्छ ?
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागका अनुसार एचपिभी एक प्रकारको भाइरस हो। यसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी हो। एचपिभीको दुई सयभन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् र यसमध्ये कम्तिमा १२ वटा प्रजातिलाई पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ।
नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले यो खोपले एचपिभी संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सरबाट बचाउने भएकाले सबै किशोरीहरूले लगाउन आवश्यक रहेको जानकारी दिइन्।
पाठेघरको मुखको क्यान्सरले दैनिक चार महिलाको मृत्यु
परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य शाखाका प्रमुख पौडेलका अनुसार नेपालमा प्रत्येक दिन ६ जना महिलाहरूलाई पाठेघर मुखको क्यान्सर भएको प्रमाणित भएको छ भने यसबाट प्रत्येक दिन ४ महिलाहरूको मृत्यु भएको तथ्यांक छ। ‘त्यसैले पनि यो खोप लगाउनु आवश्यक छ,’उनले भनिन्।
उक्त अभिमुखीकरण कार्यक्रममा क्यान्सर रोग समाधानलगायत विषयका विषयविज्ञ डा।सरिता घिमिरेले पनि आफ्नो प्रस्तुति दिएकी थिइन्। उनले पनि महिलाहरूमा लाग्ने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघर मुखको क्यान्सर प्रमुख रहेको जानकारी दिइन्।
उनले भनिन्,‘बेलैमा हामी सचेत,स्वास्थ्यलाई तन्दुरूस्त र एचपिभी खोप लगाए यसबाट बच्न सकिन्छ, पाठेघरको मुखको क्यान्सर खोपबाट रोकथाम गर्न सकिने रोग हो, शुरूको अवस्थामा यो रोगको पहिचान भयो भने उपचार गरेर निको हुनसक्छ, म कहाँ पनि यस्ता थुप्रै विरामीहरू आउनुहुन्छ,’उनले भनिन्।
खोप कति सुरक्षित ?
सरकारले यो खोप अभियान थाल्ने तयारी गरेपछि केही सामाजिक सञ्जालमा यो खोप लगाए बाझोपन हुने भनी नकरात्मक प्रचारप्रसार गर्ने गरिएको छ तर,यो खोप सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयको परिवार कल्यान महाशाखाका निर्देशक डा।विवेक कुमार लालले जानकारी दिए।
‘एचपिभी खोप अत्यन्तै सुरक्षित छ,विश्व स्वास्थ्य संगठनले गुणस्तरयुक्त प्रमाणित गरेको खोप मात्र नेपालमा खरिदरआपूर्ति गरिन्छ, यो खोप नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागले समेत अनुमित प्रदान गरेको छ,त्यसैले सुरक्षित छ,बाहिर हल्ला फैलाए जस्तो होइन,वैज्ञानिक तथ्यांककै आधारमा दिन लागिएको हो,’उनले भने।
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा।गौतमले पनि ढुक्क भएर खोप लगाउन आग्रह गरे। ‘यो खोप सुरक्षित छ,कसैले यो खोप लगाए बाँझोपन हुन्छ भन्ने हल्ला छ,त्यो होइन्,त्यस्तो हुँदैन पनि,’उनले भने।
उनका अनुसार यो खोप हालसम्म विभिन्न एक सय ४५ देशमा लगाउने अभियान सुरू गरिसकेको छ। यो खोप २००६ देखि लगाउन सुरू गरिएको पाइन्छ। जुनबेला चार देशमा मात्रै सुरू भएको थियो। ‘यो खोप महंगो छ, एउटा डोज लगाए पुग्छ, त्यसैले नेपालमा पनि एक डोजमात्रै लगाइदिन्छौँ,’उनले भने।
खोप लगाएपछि के-के असर देखिन्छ ?
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा।गौतमका अनुसार यो खोप लगाएपछि केही असरहरू भने देखा पर्नसक्छ।
जस्तोः सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने,रातो हुने, ज्वरो आउने, टाउँको दुख्ने,जिउ दुख्ने, रिँगटा लाग्ने, मांसपेशी दुख्ने, थकाइ लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने हुन्छ। ‘तर,यसप्रकारका असरहरूबाट डराउनु पर्दैन, केही समयपछि आफैँ ठिक हुन्छन्,’उनले भने।
उनका अनुसार कक्षा ६ भन्दा मुनि र कक्षा १० भन्दा माथिका छात्राहरूमा यो खोप लगाउन हुँदैन। विद्यालय नजाने १० वर्ष मुनि र १४ वर्ष माथिका किशोरीहरू, गर्भवती महिला, पहिले खोप लगाउँदा गम्भीर एजर्जी भएका व्यक्तिले यो खोप लगाउन हुँदैन।
राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले यही खोपका लागि प्याब्सन, एनप्याब्सन, स्वास्थ्य पत्रकारलगायत अन्य सरोकार व्यक्तिहरूसँग बसेर जानकारी दिएको बताए। ‘यस वर्ष बल्ल यो खोप नेपालमा पनि सुनिश्चित भएको छ, त्यसैले ढुक्क भएर खोप लगाउन किशोरीहरू र उहाँहरूका अभिभावकहरूलाई आग्रह गर्दछु, हामीले पनि यस्तै किसिमका सन्देश, प्रचारप्रसार गरिरहेका छौँ,’उनले भने।
प्रतिकया दिनुहोस्