मानसिक स्वास्थ्य समस्या र चुनौती :खिम बहादुर पौडेल

सन् १९७८ मा अल्मा आटामा आयोजना गरिएको बिश्व स्वास्थ्य संगठनको ३० औ महासभा पश्चात जारी गरिएको घोषणापत्रमा मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवाको एक अंगको रुपमा लिएको थियो भने बिश्व स्वास्थ्य संगठनले जारी गरेको बिश्व स्वास्थ्य प्रतिबेदन २००१ ले मानसिक स्वास्थ्य सेवालाई जनस्वास्थ्यको महत्वपूर्ण सरोकारको बिषय भएकोले समुदायमा नै सुनिश्चितताको प्रत्याभूति गर्नको लागी तथ्यपरक दिशाबोध तथा पैरवी गरेको थियो ।नेपालमा पनि मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्यको रुपमा लिएको भए तापनि प्राथमिक स्वास्थ्य सेवा केन्द्रबाट प्रभावकारी रुपमा सेवा प्रवाह हुन नसकेको अवस्था रहेको छ ।

विश्वभर सम्पूर्ण रोगहरुको करिब १४ प्रतिशत मानसिक, स्नायु तथा लागु पदार्थ सेवनबाट हुने स्वास्थ्य समस्याहरूले ओगटेका छन् । यसको अधिकाशं भार न्यून तथा मध्यम आय भएका देशहरुमा देखिन्छ । विश्व स्वास्थ्य संगठनको भर्खरको तथ्यांकले देखाए अनुसार डिप्रेसन तथा एन्जाइटी डिसअर्डर विश्वमै सबैभन्दा धेरै मात्रामा देखिने मानसिक स्वास्थ्य समस्या हुन | नेपालमा राष्ट्रिय स्तरमा अध्ययन नभए तापनि जोखिममा रहेका समुदायमा गरिएका अध्ययनहरुले डिप्रेसन, एन्जाइटी, पिटिएसडी तथा मादक पदार्थको दुर्व्यसनी सम्बन्धी समस्याहरु प्रचुर मात्रामा रहेको देखाएको छ।

यसैगरी मध्यम तथा न्यून आय भएका देशहरुमा मानसिक स्वास्थ्य समस्या भएका ५ जना व्यक्तिहरु मध्ये ४ जनाले प्रभावकारी उपचार भएका छैनन् भन्ने तथ्यांक सार्बजनिक भएको छ ।मानसिक स्वास्थ्य समस्या र सेवाको उपलब्धता बीच ठुलो अन्तर रहेको कारणले न्यून तथा मध्य आय भएका राष्ट्रहरुलाई मध्यनजर राखी यो अन्तर कम गराउनका लागी सन २००८ मा बिश्व स्वास्थ्य संगठनले Mental Health Gap Action Programme (mhGAP) को अवधारणा ल्यायो । जसको प्रमुख उद्देश्य भनेको प्राथमिक स्वास्थ्य सेवा स्तरका अवशिष्ट स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरि समुदाय स्तरमा रहेको स्वास्थ्य संस्थाहरुबाट मानसिक स्वास्थ्य सेवा प्रवाह गर्नु रहेको छ ।

नेपालमा भूकम्प र कोभिड-१९ संगै आर्थिक मन्दी बढेको र विभिन्न क्षेत्रका मानिसहरुले आर्थिक समस्या ब्यहोर्नु परेको कारणले मानसिक समस्याका बिरामीहरु पहिला भन्दा बढेको देखाएको छ।नेपालमा मानसिक स्वास्थ्यको बहिरंग सेवा सन १९६१ मा बीर अस्पतालबाट शुरु भएको थियो भने सन १९६४ मा आएर सोहि अस्पतालमा ५ शैयाको मानसिक स्वास्थ्यको इकाईबाट अन्तरंग सेवाको शुरुवात भएको थियो । त्यसैगरी सन १९८४ मा आएर विशिष्ट मानसिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि ललितपुरको लगनखेलमा एउटा छुट्टै अस्पताल स्थापना गरिएको थियो ।

अस्पतालमा आउने १०० जना रोगीहरु मध्ये २०-३० जनालाई कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ । मानसिक रोगीहरु पनि शारीरिक लक्षण लिएर अस्पताल आउन सक्छन । त्यसैले बिस्तृत रुपमा ईतिहास लिने र जाँच तथा परिक्षण गर्नुपर्दछ । मानसिक समस्यामा, मानसिक बिरामीको निदान(diagnosis)र उपचार(treatment)मा मात्र सिमित हुदैन ।

मानसिक स्वास्थ्य भन्नाले मानसिक स्वास्थ्यको प्रबर्धन(promotion of mental health},मानसिक रोगको रोकथाम (prevention of mental illness), मानसिक रोगीहरुको समयमै पहिचान(early detection of mental patient) र मानसिक रोगीहरुको पुनस्थापना(rehabilitation of mental patient)जस्ता सबै क्रियाकलापहरु पर्दछन् ।

मानसिक स्वास्थ्य बिग्रनु भनेको त्यस्तो अवस्था हो जसको सोच्ने शक्ति असन्तुलित भइरहेको हुन्छ,दैनिक क्रियाकलाप पुरा गर्न असमर्थ हुन्छ । साथी, परिवार तथा समाजसँग उचित सम्बन्ध राख्न असमर्थ हुने,बौद्धिक क्षमतामा ह्रास आउने,गर्नै नसक्ने कामहरु गर्ने सोच आइरहने इत्यादि मानसिक रोगका लक्षणहरु हुन सक्छन | जो कुनै व्यक्तिमा यस्ता लक्षणहरु देखापरेमा उसलाई मानसिक रोग भएको हुन सक्छ ।

क) स्वास्थ्य
विश्व स्वास्थ्य संगठन (WHO, 1948) का अनुसार “Health is a state of complete physical, mental, spiritual and social well being, not merely the absence of disease or infirmity”| अथार्त स्वास्थ्य भनेको कुनै पनि रोग वा अशक्तता नहुनु मात्र नभई पूर्णरुपमा शारीरिक,मानसिक,आध्यात्मिक र सामाजिक स्वस्थताको गतिशील अवस्था हो ।

ख) मानसिक स्वास्थ्य
Mental health is defined as a state of well-being in which every individual realizes his or her own potential, can cope with the normal stresses of life, can work productively, and is able to make a contribution to his or her community. (WHO, 2001)| अथार्त मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिको त्यस्तो अवस्थालाई जनाउँछ जसमा व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सक्दछ, जीवनका सामान्य तनावको सामना गर्न सक्दछ, उत्पादनशील तरिकाले काम गर्न सक्दछ र आफ्नो समुदायमा केही योगदान दिन सक्षम हुन्छ ।

ग) मानसिक रोग
कहिलेकाही विभिन्न कारणले गर्दा पनि मानिसहरुमा क्षणिक रुपमा भावनात्मक विचलन आउन सक्छ | तर मानसिक रोग भनेको मानिसमा देखिने भावनात्मक, संवेगात्मक र सामाजिक आदि विभिन्न कारणहरूबाट व्यक्तिको व्यवहारमा हुने परिवर्तन हो | विश्व स्वास्थ्य संगठनले २००१ मा प्रकाशन गरेको मानसिक रोगको परिभाषा अनुसार जब व्यक्तिमा सामान्य भन्दा बढी मात्रामा भावनात्मक रुपमा विचलन आई धेरै लक्षणहरु देखा पर्दछ र यसबाट व्यक्तिको दैनिक क्रियाकलाप तथा सम्बन्धमा प्रभाव पर्दछ भने मानसिक रोग भएको हुन सक्दछ | मानसिक रोग भन्नाले धेरै लक्षणहरु सहित देखिने सिन्ड्रोम (syndrome) हो ।

मानसिक स्वास्थ्य समस्याका प्रकारहरू
१) डिप्रेसन (Depression)
२) एन्जाइटी डिसअर्डर (Anxiety Disorder)
३) साइकोसिस (Psychoses)
४) आत्म हानी/आत्महत्या (Self harm/Suicide)
५) छारे रोग (Epilepsy)
६) कन्भर्जन डिसअर्डर (Conversion disorder)
७) बालबालिका तथा किशोरीहरुलाई हुने मानसिक तथा व्यवहारिक समस्याहरु (child and adolescence mental and behavioral disorders)
८) डीमेन्सिया (Dementia)
९) लागुऔषध दुर्व्यसनबाट हुने मानसिक समस्या (mental and behavioral disorders due to substance use)

मानसिक स्वास्थ्य समस्याका कारणहरु
विभिन्न अनुसन्धानहरूबाट मानसिक स्वास्थ्य समस्याका कारणहरु कुनै एक मात्र नभएर जैविक (biological), मनोवैज्ञानिक (psychological) र सामाजिक (social) हुन् सक्छन भन्ने कुरा पुष्टी भएको छ ।

१) जैविक (Biological): जैविक कारणहरु लाइ निम्नानुसार विभिन्न भागमा बाँडिएको छ ।
क) वंशाणुगत: वंशाणुगत भन्नाले कुनै पनि व्यक्तिको बंशजमा मानसिक स्वास्थ्य समस्या भएमा उसका नयाँ पिडिमा यस्तो समस्या आउन सक्दछ जस्तै: छारे रोग, सिजोफ्रेनिया।
ख) अन्य जैविक कारणहरूमा मस्तिष्कमा हुने समस्याहरु
 मस्तिष्कको संक्रमण (मस्तिष्क ज्वरो)- Meningitis, Encephalitis
 कुनै कारणले टाउकोमा चोट लागेर मस्तिष्क भित्र असर परेमा,
 मस्तिष्कमा रक्तसंचार कम भएमा,
 अत्यधिक लागु पदार्थ तथा मादक पदार्थको दुर्व्यसनबाट मस्तिष्कमा हानि पुगेमा,
 मस्तिष्कमा ट्युमर वा अन्य रोग भएमा,
 शारीरिक रोगले मस्तिष्कमा नराम्रो असर पारेमा आदि।
ग) मस्तिष्कमा विभिन्न रासायनिक तत्व (डामिन, सेरोटोनिक आदि) को मात्रामा घटबढ भएमा पनि मानसिक स्वास्थ्य समस्या हुन सक्दछ |
घ) विभिन्न किसिमका शारीरिक स्वास्थ्य समस्याहरु
 दिर्घकालिन शारीरिक रोग (दम,बाथ,सुस्त मनस्थिति, छारे रोग) तथा शारीरिक अंगभंग भएमा ,
 टाइफाइड तथा अन्य कारणले गर्दा धेरै ज्वरो आएमा,
 थाइरोइड ग्रन्थिबाट वा अन्य यस्तै ग्रन्थचित्रबाट निस्कने हर्मोनको घटबढ भएमा,
 शरीरमा चिनी, नुन आदिको मात्रामा घटबढ भएमा,
 मृगौला तथा कलेजोमा हुने गम्भीर समस्या आदि भएमा पनि मानसिक स्वास्थ्य समस्या हुन सक्दछ ।

न ) औषधीहरूले पार्न सक्ने प्रतिकुल असरहरू
 बिरलै मात्रामा कुनै कुनै रोगमा प्रयोग हुने औषधीहरु जस्तै क्षयरोगमा प्रयोग हुने Isoniazid वा Steroid (Prednisolone) को प्रयोगले मानसिक स्वास्थ्यमा समस्या हुन् सक्दछ ।

२) मनोवैज्ञानिक (Psychological): व्यक्तिको मानसिक अवस्था, सोचाइ, बुझाइ , हुर्काइको परिवेश विभिन्न प्रकारको हुन् सक्छ र सोहि अनुसार व्यक्तिले व्यवहार गर्ने गर्दछ | निम्न मनोवैज्ञानिक पक्षहरूले ब्यक्तिको मानसिक अवस्थालाई प्रभाव पार्न सक्दछ ।

 बाल्यकालमा मानसिक आघात (भावनात्मक, शारीरिक र यौन दुर्व्यवहार) भोगेमा,
 बाल्यकालमा आफ्नो जीवनका महत्वपूर्ण व्यक्ति गुमाएका,
 बाल्यकालमा माया-ममता तथा उचित संरक्षण नपाएमा,
 व्यक्तित्व बिकासका क्रममा अप्रभावकारी तथा दोष पूर्ण सिकाई भएमा,
 व्यक्तिको स्वभाव र चरित्र जस्तै anxious, schizoid, paranoid आदि विशेषता भएमा,
 बेसहारा महशुस (learned helplessness)भएमा,
 नकारात्मक सामना गर्ने सिकाइ वा व्यवहार (negative coping skills) भएमा ।

३) सामाजिक (Social): व्यक्तिका बाह्य परिबेशहरुले पनि मानसिक समस्या निम्त्याउन सक्दछ | सामाजिक परिवेश व्यक्तिको सोच अनुकुल नभएको अवस्थामा मानसिक समस्याहरु आउन सक्दछन | सामाजिक कारणलाई पनि निम्न अनुसार दुइ भागमा बाँडन सकिन्छ ।
क) पारिवारिक वातावरण: घरायसी झैँ-झगडा, एकआपसमा विश्वासको कमी, पारिवारिक सहयोगको भावनामा कमी आदि ।

ख) तनावग्रस्त जीवन परिवेश: असफलता, गरिबी, बेरोजगार, प्रियजनको मृत्यु, बाँझोपन, हिंसा, आघातजन्य घटना, व्यवसायिक समस्या, प्राकृतिक तथा मानब सिर्जित दुर्घटनाहरु,द्रुत सामाजिक परिवर्तनसँग सामञ्जस्यको कमी, आर्थिक समस्या(धेरै ऋण), अन्याय, यातना, एक्लोपन, बिग्रँदो बैवाहिक स्थिति, युद्ध वा युद्धको डर तथा असुरक्षा, कमजोर सामाजिक सहयोगी संजाल, जातीय भेदभाव, विभेद, चिन्ता आदि।

मानसिक स्वास्थ्य समस्याका मुख्य लक्षणहरु (Main symptoms of mental health problem)

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको भावना(emotion), विचार(thought), निद्रा(sleep), व्यवहार(b ehaviour), अनुभूति(perception), स्मरणशक्ति(memory), एकाग्रता वा ध्यान(concentration or attention), कुराकानी (speech), अन्तरसम्बन्ध(Interrelationship) र चाहना(interest) मा गडबडी भएको पाइन्छ | यस्ता गडबडीहरू रोगअनुसार र व्यक्तिअनुसार फरक फरक देखिन सक्छन | अथार्त सम्पुर्ण मानसिक रोगीहरूमा एकैप्रकारका नभई फरक फरक चिन्ह-लक्षणहरु देखा पर्न सक्छन | मानसिक रोगीमा देखा पर्ने लक्षणहरु लाइ समग्रमा निम्नानुसार बुदाहरुमा समेट्न सकिन्छ ।

क) शारीरिक (Physical) : शिथिल वा कमजोर महशुस हुने, निद्रा नपर्ने, खान मन नलाग्ने, रिंगटा लागेको र निस्सासिएको महशुस हुने, जिउभरिनै सियोले घोपेको जस्तो महशुस हुने, शरीर दुख्ने तथा झमझमाउने, टाउको दुख्ने,छाती दुख्ने ।

ख) भावनात्मक(Emotional): नरमाइलो लाग्ने वा दु:खी हुने, झिजो लाग्ने, कुनै कुरामा खुशी हुन वा रमाउन नसक्ने, आत्मग्लानि हुने, आत्मबल र आत्मसम्मानको कमी वा बृद्धि हुने, रुन मन लाग्ने ।

ग) बिचार(Thought): निराशापनि, मुल्यहिनता, असहायपन , निर्णय लिन नसक्ने, ध्यान केन्द्रित गर्न नसक्ने,भविष्यप्रति नकारात्मक दृष्टिकोण, आत्म हानी/आत्महत्या सोच, योजना वा प्रयास, व्यक्तिको संस्कृतिसँग मेल नखाने खालका दृढ आत्मबिश्वासहरु ।

घ) व्यवहारगत(Behaviour): सामाजिक क्रियाकलापहरूबाट टाढिने, बोलि तथा चालमा कमी आउने,जिम्मेवारी बहन गर्न नसक्ने,मनोरञ्जनमा मन नलाग्ने, लागु पदार्थ सेवन तथा अत्यधिक मादक पदार्थ सेवन गर्ने, उत्तेजित आक्रमण व्यवहार,क्रियाकलापमा ह्रास आउनु वा वृद्धि हुनु ।

मानसिक स्वास्थ्य समस्याको उपचार तथा व्यवस्थापनका विधिहरु
Psychotherapy: बिरामीसँग सु विकास गरी रोगीको मानसिकतामा परिवर्तन ल्याएर रोग कम गर्ने बिधि।
Behavioural therapy: रोगीको बानि व्यहोरा कस्तो छ, पत्ता लगाई उपचार गराउनु पर्छ | बिरामीको लक्षणहरु, अवस्था,रोगको पटक, अवधी र कम गराउने तत्वहरु आदिको बारेमा बिस्तृत जानकारी लिई बिरामीलाई Behavioural therapy प्रयोग गरि उपचार गर्ने बिधि ।
Cognitive therapy: सधै नकारात्मक सोचाइ हुने मानिस, मानसिक रुपमा रोगी हुन सक्ने हुन्छ | त्यस्ता रोगीहरूलाई आत्मबल बढाई सकारात्मक सोचको बिकास गराउने बिधि।
Drug therapy: बिरामीको रोग अनुसारको औषधिहरु प्रयोग गरि उपचार गरिने बिधि ।
Counseling: हालसम्म यस विधिलाई सबैभन्दा भरपर्दो र उत्तम उपचार पद्दति को रुपमा स्वीकार गरिएको छ ।
Vocational therapy: मानिसलाई उसले सक्ने कुनै पनि काममा संलग्न गराएमा उसको ध्यान एकत्रित गराई रोगको अवस्था कम गर्न सकिन्छ ।
Social intervention therapy: मानसिक बिरामीलाई सामाजिक कार्यहरुमा संलग्न गराउने अथवा यसलाई सामाजिक खोज कार्यमा जिम्मेवारी दिने कार्य यस विधिमा पर्दछ |
Rehabilitation: मानसिक बिरामीलाई विभिन्न कार्यमा वा व्यवसायमा पुनस्थापना कार्य गरेर पनि उपचार गर्न सकिन्छ ।

मानसिक स्वास्थ्य समस्याबारे केही तथ्यहरु
क) मानसिक स्वास्थ्य समस्या सर्वव्यापी छ ।
विश्वका सबैजसो देशहरुमा धेरै मानिसहरुमा मानसिक स्वास्थ्य समस्या देखिएका छन । विभिन्न देशहरुमा गरिएका अनुसन्धान अनुसार साधारण स्वास्थ्य केन्द्रमा आउने ३० प्रतिशत जति मानिसहरुमा मानसिक समस्याहरु देखिएका छन ।यो अत्यन्त गम्भीर सिजोफ्रेनिया जस्तो समस्यादेखि लिएर डिप्रेसन तथा एन्जाइटी जस्ता केहि सामान्य खालका मानिएका समस्यासम्म पर्दछन् ।

ख) मानसिक स्वास्थ्य समस्याले बहुपक्षीय असर गर्दछ |
मानसिक स्वास्थ्य समस्याका कारण उत्पादनशीलता ह्रास आउनुका साथै आर्थिक, सामाजिक, पारिवारिक, जिविकोपार्जन लगायत विभिन्न पक्षमा असर गर्दछ ।

ग) मानसिक समस्याका लागि सस्तो तथा प्रभावकारी उपचार विधिहरु उपलब्ध छन ।
विश्वका धेरैजसो मुलुकहरुमा केही न केही मानसिक स्वास्थ्यका औषधी तथा उपचारहरू उपलब्ध भएता लान्छना, भेदभाव,तथा जनचेतनाका अभावमा मानिसहरु बैज्ञानिक उपचारबाट बन्चित छन ।

घ) मानसिक स्वास्थ्य उपचार प्राथमिक स्वास्थ्य स्तरमा गर्न सकिन्छ ।

मानसिक स्वास्थ्य सेवा बिशेषज्ञ कहाँ मात्र नभएर प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरुमा पनि उपलब्ध हुन् सक्दछ । यदी स्वास्थ्यकर्मीले :
 उपचार विधिको बारे तालिम लिएको भएमा,
 प्रभावित व्यक्तिको पहिचान गर्न सकेमा,
 उपयुक्त र प्रभावकारी औषधी, उपचार विधिहरु उपलब्ध भएमा मानसिक स्वास्थ्य सेवा प्राथमिक स्तरबाट दिन सकिन्छ। यसका लागि सरकार वा सरोकारवाला निकायहरुबाट त्यहाँका स्वास्थ्यकर्मीहरूलाई तोकिए अनुसार तालिम दिई नियमित सुपरीवेक्षण गर्ने व्यवस्था मिलाई, निशुल्क औषधीको चाँजोपाँजो समेत मिलाउनु अत्यन्तै जरुरी छ।

लेखक पौडेल बुटबल उपमहानगरपालिका स्वास्थ्य शाखामा कार्यरत हुनुहुन्छ।    

 

 

 

 

,

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित शिर्षक :