पाल्पामा जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई कीट जन्य रोगबारे अभिमुखीकरण

स्वास्थ्यसमाचार /औलो, डेगी, कालाजार, स्क्रव टाइफस, चिकनगुनिया लगायतका कीट जन्य रोगबारे स्वास्थ्य कार्यालय पाल्पाले रामपुरमा अभिमुखीकरण गरेको छ।किटजन्य रोगहरुको बारेमा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुलाई जानकारी दिने उदेश्यले अभिमुखीकरण गरेको स्वास्थ्य कार्यलय पाल्पाले जनाएको छ ।

रामपुर नगरपालिका, निस्दी गाउँपालिका र रम्भा गाउँपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूलाई किटजन्य रोगहरुको बारेमा जानकारी दिदै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरिले गर्मी र वर्षाको समय सुरु भएकाले किटजन्य रोगको जोखिम बढी हुने हुँदा यसबाट जोगिन पूर्वतयारी र समाधानका उपायमा ध्यान दिनुपर्ने वताउनु भयो।

पहाडी जिल्ला पाल्पामा डेंगु, कालाजारको जोखिम बढी रहेको बताउदै उहाँले यसको निर्मुलमा स्थानीय तहमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीले सचेतना फैलाउनुपर्ने बताउनुभयो ।विगतमा तराई क्षेत्रमा बढी देखिने डेंगु, औलो, कालाजार, स्क्रव टाइफस लगायतका रोग लामखुट्टे, भुसुनाको कारण पहाडी क्षेत्रमा पनि फैलिएको तत्काल पाल्पामा सावधानी अपनाउन आवश्यक रहेको डा गिरीको भनाई छ।

पछिल्लो २ बर्षको तुलनामा पाल्पामा डेंगु रोगको संक्रमण र असर कम भएपनि चुनौती उत्तिकै रहेकोले लामखुट्टेको टोकाईबाट बच्न प्रमुख ध्यान दिनुपर्ने डा.गिरीले बताउनुभयो । स्वास्थ्य कार्यालय पाल्पाका सिनियर ल्याव टेक्निसियन मधुसुदन भट्टराईले कालाजार र औलो रोग संक्रमणको वर्तमान अवस्था, कारण, असर, उपचार, बच्ने उपायको बारेमा जानकारी दिनुभयो ।

बिगत ५ बर्षदेखि पाल्पामा समस्याका रुपमा रहेको कालाजारबाट यस बर्ष पनि जिल्लामा प्रभावित विरामी छन् । रामपुरमा ३, निस्दीमा ३ जना र रम्भामा १ जना छन् । परजीवी भुसुनाका कारण लाग्ने कालाजारबाट जिल्लामा ७ बर्षमा ३ जनाले ज्यान गुमाइसकेका छन् । तसर्थ सरसफाईमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसबर्ष ६ वटा जिल्लामा देखिएको औलो रामपुरमा २ जना, तानसेनमा २, पुर्वखोालमा १ मा देखिएको छ । औलो निवारण कार्यक्रम अन्तर्गत राज्यले रणनीति लिएको र यसलाई सार्थक बनाउदै कालाजार औलो मुक्त समाज बनाउन सबै लाग्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत टुक प्रसाद पोखरेलले सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनको विषयमा जानकारी गराउनु भएको थियो ।

उहाँले पाल्पाको बजार क्षेत्रलाई मध्यनजर गर्दै सदरमुकाम तानसेन, रामपुर र तिनाउमा सडक स्वास्थ्य सहायता कक्षा र जनचेतनामुलक ब्रोसर, माइकिङ सेट प्रदान गर्दै सडक दुर्घटनाबाट पनि सर्ने र नसर्ने रोग जस्तो महामारी रुपले अकालमा ज्यान गइरहेको बताउदै सचेतनाको कार्यक्रममा जोड दिएको बताउनुभयो ।

कार्यक्रमा रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अध्यक्ष कपिल बहादुर खाँणले गर्मी संगै रोगको प्रकोप बढ्न सक्ने भएकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु सहकार्य गरेर समुदायमा सचेतना दिनुपर्ने बताउनुभयो । बढ्दो शहरीकरण संगै रामपुरमा आवतजावत धेरै हुने भएकाले विभिन्न संक्रमण फैलिएमा नियन्त्रणमा चुनौती रहने भएकाले सावधानी अपनाउनुका साथै पूर्व तयारीका कार्य गर्नु आवश्यक रहेको बताउनुभयो ।

निस्दी गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले समुदायमा सर्ने रोगहरु मात्र नभै नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी समस्या बढ्दो क्रममा रहेकाले अब त्यस तर्फ पनि केन्द्रित हुने समय आएको बताउनुभयो । रम्भा गाउँपालिकाका प्रवक्ता चेत बहादुर सिंजालीले सचेतनाका कार्यक्रमलाई जनस्तर सम्म पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।

रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विवेक भण्डारीले किटजन्य रोग नियन्त्रणका लागि परीक्षणमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरिको अध्यक्षता र तथ्याङ्क अधिकृत टुक प्रसाद पोखरेलको सञ्चालनमा भएको थियो।

सम्बन्धित शिर्षक :