तिलोत्तमाका भित्रका एचआईभी संक्रमितलाई छात्रवृत्ति, र पोषण सामग्री वितरण

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाले नगरभित्रका एचआईभी संक्रमितको लागि छात्रवृत्ति,शैक्षिक एवं पोषण सामग्री वितरण गरेको छ ।नगरपालिकाले आइतबार नयां मिलमा एक कार्यक्रमका बीच क्याम्पस तहमा अध्यनरत विद्यार्थी ५ जनालाई २० हजारका दरले छात्रवृत्ति, विद्यालय तहका ७ जना विद्यार्थीलाई झोला,कापी, क्यालकुलेटर लगायत शैक्षिक सामग्री र अन्य ६० जनालाई चामल,दाल,तेल,अण्डा लगायत पोषण सामग्री वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै तिलोत्तमाका मेयर रामकृष्ण खाँणले छात्रवृत्ति, पोषण सामग्री वितरण गर्नु सन्देशका हिसाबले महत्वपूर्ण छ भन्दै आफ्नो कारणले मात्र नभई रगत लिँदा वा अन्य हिसाबले एचआईभी संक्रमण हुने भएकाले समाजले यसलाई दुर्घटनाका रुपमा सहज लिनुपर्ने बताए । नगरवासीलाई विभेद नगर्ने, समान व्यवहार गर्ने नीति नगरपालिकाको रहेको उनले बताए ।

संक्रमित मध्ये घरवास नभएकालाई घर बनाउन जग्गा उपलब्ध गराउन पहल गरिने उनले आश्वासन दिए ।नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरी कुनै पनि वर्ग समुदायलाई विभेद नहोस् भनेर समितिले नीति तथा कार्यक्रम र वजेटमा छात्रवृत्ति र पोषण वितरण गरेको बताए । संक्रमित विद्यार्थीलाई रोजगारमूलक तालिम, सीप दिएर आत्मनिर्भर बनाउनुपर्ने उनले बताए । १५७ जनामा एकजनालाई एचआईभी संक्रमण हुनु गम्भीर विषय भएको उनले बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले नगर भित्र १७५ जनामा एचआईभी संक्रमण रहेको भन्दै यसपटक ७२ जनालाई लागि छात्रवृत्ति, शैक्षिक एवं पोषण सामग्री वितरण गरिएको बताए ।उनले चालु वर्षमा एचआईभी संक्रमितको लागि ५ लाख वजेट रहेको बताए ।

जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले एआरभी औषधि नियमित सेवन गरे रोग निको हुने र अरु जस्तै नियमित काम, रोजगारी गर्न सकिने बताए ।एचआईभी संक्रमित शोभाखर पोखरेलले संक्रमित हुँदैमा आत्तिन नपर्ने नियमित रुपमा रोजगारी र काम गर्न सकिने बताए । आफूहरु श्रीमान श्रीमती नै संक्रमित हुदा पनि सन्तानमा संक्रमण नभएको अनुभव सुनाए ।

एचआईभी क्षेत्रमा काम गर्ने एनएपीएनका प्रदेश संयोजक अर्जुन ज्ञवालीका अनुसार रुपन्देहीमा १७ सय जना एचआईभी संक्रमित छन् । ती मध्ये १५ सय जनाले लुम्बिनी प्रादेशिक अस्पताल र २ सय जनाले भीम अस्पतालबाट औषधि सेवन र उपचार सेवा लिइरहेका छन् ।

तिलोत्तमा, सिद्धार्थनगर, बुटवल, देवदह, लुम्बिनी सांस्कृतिक, सियारी र शुद्धोधनले संक्रमितको लागि वजेट छुट्टाएर सहयोग गरेको भन्दै बांकी पालिकाहरुले पनि यसलाई अनुकरण गर्नुपर्ने बताए ।

सम्बन्धित शिर्षक :