न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशको तेस्रो बन्यो गुल्मी अस्पताल

स्वास्थ्यसमाचार/न्यूनतम सेवा मापदण्ड मुल्याकंनमा गुल्मी अस्पताल यस पटक पनि लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय भालुबाङ दाङबाट आएको टोलीबाट गरिएको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा तेस्रो भएको जानकारी टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले दिनु भयो ।

न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ प्रतिशत अङ्क ल्याएर लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पताल मध्ये गुल्मी अस्पताल तेस्रो भएको उहाँले बताउनुभयो ।मङ्गलबार गुल्मीको तम्घासमा आयोजना गरिएको न्यूनतम सेवा मापदण्डको नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै श्रेष्ठले अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शिता तथा सुशासन, नियमित रिपोर्टिङ लगायतका सूचकहरूलाई मूल्याङ्कन गरिएको बताउनुभयो ।

अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अनुगमन मूल्याङ्कन गर्दा विगतमा भन्दा थप उपलब्धि पाएको बताउनुभयो । गत वर्षको मूल्याङ्कनमा गुल्मी अस्पताल ८९ प्रतिशत अङ्क ल्याएर लुम्बिनी प्रदेशमा तेस्रो भएको थियो ।

गुल्मी अस्पताललाई रेसुङ्गा नगरपालिकाले गरेको सहयोग महत्त्वपूर्ण कार्य भएको भन्दै नगरप्रमुख खिलध्वज पन्थीले अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन लगायतका क्षेत्रका लागि खेलेको भूमिकाको श्रेष्ठले प्रशंसा गर्नुभयो।भौतिक पूर्वाधारको अभावमा पनि अस्पतालले राम्रो सेवा प्रवाह गरिरहेको श्रेष्ठको भनाइ छ ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले अस्पतालको विकास सबैको साझा विषय भएकोले सबै मिलेर सेवालाई प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनु भयो ।कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले ‘गुल्मी अस्पताल मेरो अस्पताल’ भन्ने भावनाका साथ नगरले नीति र कार्यक्रममै समावेश गरी काम गरिरहेको बताउनुभयो ।

गुल्मी अस्पतालको विकासको निमित्त रेसुङ्गा नगरपालिका र आफू सधैँ लागिरहेको भन्दै हाडजोर्नी सेवाले वर्षमा ५० देखि ६० करोड बढी रकम जिल्ला बाहिर जानबाट रोकिएको बताउनुभयो ।अहिले आफ्नै पहलमा अस्पतालमा विभिन्न रोगका विशेषज्ञ सेवासहित मिर्गौला डायलासिस सेवा लगायतबाट नागरिकहरूले लाभ लिइरहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

आफ्नो सपना गुल्मी अस्पताललाई देशकै नमुना अस्पताल बनाउने उद्देश्य रहेको भन्दै जनशक्ति र पर्याप्त भौतिक पूर्वाधारको अभावमा पनि इच्छा शक्ति भए सफल बन्न सकिन्छ भन्ने गुल्मी अस्पतालले पुष्टि गरेको बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अस्पतालको निर्माणाधीन भवनलाई समयमै सम्पन्न गराउन सबै लागिरहेको भन्दै निर्माणको कार्यको समय–समयमा अनुगमन गर्ने गरेको बताउनुभयो ।

उहाँले नागरिकहरूलाई राम्रो सेवा दिएकै कारण अस्पताल सफल भएको बताउनुभयो । अस्पतालबाट प्रवाह गर्ने सेवालाई सधैँ प्रभावकारी र गुणस्तरीय रूपमा दिगो राख्न आग्रह गर्नुभयो ।अस्पताललाई थप स्तरवृद्धि गरी १०० सय बेडको अस्पताल बनाउनुपर्ने बताउँदै गुल्मीअस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर बञ्जाडेले यो उपलब्धि प्राप्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले हाल निर्माण भइरहेको अस्पताल भवन समयमै सम्पन्न गरी अस्पतालको सेवालाई थप व्यवस्थित गराउन सकिने भन्दै अस्पताल भवन समयमै सम्पन्न गर्न सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताउनुभयो । गुल्मी अस्पतालमा हाडजोर्नी, गाइनोलोजिष्ट, हेमो डायलासिस सेवा लगायतका विशेषज्ञ चिकित्सकसहितका सेवा विस्तार गरिएको बताउनुभयो ।

सम्बन्धित शिर्षक :