डा. शेखरलाई स्वास्थ्य र शिक्षा निःशुल्क बनाउने एजेण्डा बोक्न सुझाव

स्वास्थ्यसमाचार/शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार हो । तर शिक्षा र स्वास्थ्यका लागि नागरिकले धेरै दुःख र कष्ट व्यहोर्नु परेको छ । प्रजातन्त्रवादी चिकित्सक संघले  बुटवलमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई बुद्धिजिवीहरुले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने एजेण्डा बोक्न सुझाव दिएका छन् ।

प्रजातन्त्रवादी चिकित्सक संघले बुद्धिजिवीहरुसंग काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला विषयमा कार्यक्रम गरेको थियो । कार्यक्रममा सहभागि प्राध्यापक, डाक्टर, वकिल, पत्रकार, ईञ्जिनियर, उद्योगी–व्यवसायीहरुले उक्त सुझाव राखेका हुन् ।

कार्यक्रमको सुरुमा थोरै बोल्नुभएका नेता डा. कोइरालाले समस्या र समाधान सहितको सुझाव राख्नको लागि अनुरोध गर्दै त्यसमा तत्काल आफूले कुनै जवाफ नदिने जानकारी गराउनु भएको थियो । लगत्तै सुझाव राख्ने क्रममा बुद्धिजिवीहरुले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने एजेण्डा बोक्न सुझाव दिएका हुन् । त्यसले वैदेशिक रोजगारी मात्रै नभएर शिक्षाको नाममा पलायन भईरहेको युवा जनशक्तिलाई पनि रोक्न सकिने र त्यो युवा शक्तिलाई देश निर्माणमा प्रयोग गर्न सकिने बताएका थिए ।

त्यस्तै उनीहरुले रोजगारी सिर्जनाको लागि उद्यमशिलता विकास गर्ने वातावरण बनाउनु पर्ने र त्यसले पलायन भईरहेको युवालाई रोक्न सकिने बताए । त्यस्तै आयात निर्यात प्रणालीमा सुधार गर्नुपर्ने खाँचो औंल्याए । अहिलेको आयात निर्यात प्रणाली असमान प्रकृतिको रहेको बताउँदै त्यसको सुधारको लागि वैज्ञानिक प्रणाली अवलम्बन गरिनु पर्ने सुझाव दिए ।

देशको राजनीतिलाई सुधार गर्नको लागि समानुपातिक प्रणाली हटाउनु पर्ने र प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै समावेशी बनाउनु पर्ने उनीहरुको भनाई छ । त्यस्तै नेपालको निर्वाचन प्रणालीलाई पनि सुधार गर्न आवश्यक रहेको सुझाव दिएका छन् ।

सम्बन्धित शिर्षक :