इन्डोनेशियामा अपाओद्धारा नेत्रज्योति संघका महासचिव चन्द सम्मानित

स्वास्थ्यसमाचार/नेपाल नेत्रज्योती संघका महासचिव भरतबहादुर चन्दलाई एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजीले यस बर्ष Outstanding Service in Prevention of Blindness Awards बाट सम्मानित गरेको छ । फेब्रुअरी २२ देखि २५ सम्म इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञहरूको वार्षिक सम्मेलन कार्यक्रममा चन्दलाई सम्मानित गरिएको हो ।

नेपालमा अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै अपाओले चन्दलाई सम्मान गरेको हो ।यो अवार्ड बार्षिक रुपमा एसिया–प्रशान्त क्षेत्रमा अन्धोपन रोक्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरिन्छ । नेपालमा आँखा उपचार सेवाको विस्तार र अन्धोपन निवारणमा लामो समयदेखि सक्रिय रहनुभएका चन्दले संघको गुल्मी शाखाको सभापति रहँदा गुल्मी जिल्लालाई मोतियाविन्दु रहित जिल्ला घोषणा गराउने अभियानको सुरुवात गर्नुभएको थियो ।

संघको सचिव तथा महासचिव पदमा रहि नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ ।सन् १९६० मा स्थापना भएदेखि एसिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (APAO) ले अन्धोपन कम गर्नको लागि यस क्षेत्रमा शिक्षा, आँखा सेवा र अनुसन्धानमार्फत नेतृत्व गर्दै आएको छ ।

अन्धोपन विरुद्ध लड्न एसिया–प्रशान्त क्षेत्रका आँखा विशेषज्ञ तथा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने सं गठनहरूबीच घनिष्ट सम्बन्ध विकास गर्ने प्रमुख उद्देश्यका साथ काम गदै आईरहेको छ ।

वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योती संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु संचालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत बार्षिक ३० लाख बढि बिरामीको आँखा जाँच हुने गर्दछ ।

स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

 

सम्बन्धित शिर्षक :