भ्रष्टाचारको माध्यम बन्यो स्वास्थ्य बिमा कार्यक्रम :सभामुख घिमिरे

स्वास्थ्यसमाचार/प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बिमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताउनुभएको छ ।राजनीतिक दल र जनप्रतिनिधिहरूको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उहाँको भनाइ छ ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद् भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्नुहुँदै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरूले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरूमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने स्पष्ट पार्नुभयो ।

सभामुख घिमिरेले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।

जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरेले जानकारी दिनुभयो । उहाँले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानुन बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा रावल ले स्वास्थ्य बिमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराउनुभयो । क्यान्सर रोगको पीडाबाट मुक्त हुनुभएका उहाँले किशोरीहरूलाई पाठेघर विरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभयो । उहाँले काठमाडौँ उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्न नहुने पनि बताउनुभयो ।

सांसद सुवालले क्यान्सर रोगबाट गरिब बढी मर्ने भएकाले उनीहरूका लागि विशेष सेवा, सुविधाको व्यवस्था गर्न पनि सरकारले गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित शिर्षक :