बुटवललाई क्षयरोग मुक्त पालिका बनाउन स्क्रिनिङ शिबिर सुरु

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले क्षयरोग स्क्रिनिङ शिविर सुरु गरेको छ ।क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत अति जोखिम तथा स्वास्थ्य संस्थाबाट टाढा रहेका समुदायका लागि वडामै पुगेर शिविर सुरु गरेको हो ।

आइतबारेदेखि बुटवल वडा नं. १ देखि सुरु भएको हो ।बुटवल उपमहानगरपालिका वडा नंं. १ का वडा अध्यक्ष नरेन्द्र बस्नेतले शिविरको उद्घाटन गर्दै जोखिममा रहेका ब्यक्तिलाई घरमै पुगेर खकारको नमुना संकलन गरेर परिक्षण गरिने बताए ।

क्षयरोग नियमित औषधी सेवनबाट निको हुने भएकाले परिक्षण गराएर समयमा नै उपचार गर्न उनले आग्रह गरे । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत शिविर संचालन गरिएको बताउँदै बस्नेतले यस अभियानमा सबैले साथ दिनु पर्नेमा जाेड दिए ।

बुटवल उपमहानगरपालिका जनस्वास्थ्य प्रमुख युवराज पाण्डेयले १९ वटै वडामा स्वास्थ्यकर्मी पुगेर शिविर संचालन गरिने जानकारी दिए । शिविरमा खकारको नमुना संकलन गरि क्षयरोग भए–नभएको परीक्षण गरिने बताए ।

क्षयरोग भेटिएमा निःशुल्क रुपमा उपचार गरिने भएकाले शिविरमा आएर खकार परिक्षण गराउन उनले आग्रह गरे ।स्वास्थ्य संस्थामा पुगेर खकारको नमुना समेत परिक्षण गराउन नसक्ने समुदायलाई लक्षित गरि शिविर संचालन गरिएको पाण्डेयको भनाई छ ।

शिविरमा आउन नसक्ने बिरामीलाई घरघरमा स्वास्थ्यकर्मी पुगेर पनि नमुना संकलन गरेर उपचारमा सहयोग पुराउने उनले बताए ।हाल बुटबलमा ४ सय भन्दा बढीले क्षयरोगको औषधी सेवन गर्दे आएको बुटबल नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

सम्बन्धित शिर्षक :